क्रान्तिकारी माओवादी : वैद्यलाई एक्ल्याउँदै परी थापा समूह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाडौँ, २५ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यलाई परी थापा समूहले एक्ल्याउन खोजेको छ । एकता भएको दुई वर्ष नपुग्दै नेकपा (एकीकृत) बाट आएका थापा समूहले वैद्यलाई एक्ल्याउन खोजेका हुन् । थापा समूहका रामसिंह श्रीस र सीताराम तामाङले माओवाद विचार र जनयुद्धको विषयमा वैद्यको दस्ताबेजमा फरक मत राखेका छन्।

नेपाली समाजको स्वरूप र पार्टीको आम कार्यदिशा २५ देखि ३० असारसम्म चलेको केन्द्रीय समिति बैठकले पास गरेको थियो । सोही बैठकमा वैद्यले पेस गरेको दस्ताबेजमा श्रीस र तामाङले राखेको फरक मतलाई दस्ताबेजमा समेटिएको छ।

वैद्यको दस्ताबेजसँग असहमत श्रीस र तामाङको राजनीतिक दस्ताबेज नेताहरूलाई पढ्न दिइएको छ । दुईजनाको फरक मतलाई आगामी २१ असोजमा हुने राष्ट्रिय सम्मेलनमा टुंगो लगाइने भएको छ। श्रीस र तामाङले दस्ताबेजमा माओत्सेतुङ अर्थात् माओवादलाई वादको रूपमा नभई विचारको रूपमा मात्र मान्नुपर्ने फरक मत राखेका छन्। फरक मतमा माओवादी जनयुद्धलाई जनताको सहभागितामा नभई केही कार्यकर्ताद्वारा मात्र चलाइएको युद्ध भनिएको छ।

माओवादी जनयुद्ध होइन
थापा समूहले माओवादीका निश्चित कार्यकर्ताले मात्र युद्ध गरेकाले जनयुद्ध भन्न नमिल्ने तर्क गरेका छन् । ‘माओवादीले ०५२ सालमा सुरु गरेको युद्धमा जनताको व्यापक सहभागिता थिएन । एक प्रकारले आन्दोलन मन्दी अवस्थामा थियो । पार्टी संगठनको अवस्था पनि त्यति मजबुद थिएन । त्यसैले माओवादीका निश्चित कार्यकर्ताले मात्र गरेको युद्ध हो ।’ थापा समूहको निष्कर्ष छ ‘मालेमावादमा माक्र्स, एंगेल्स, स्टालिन र माओले अपनाएको दृष्टिकोणअनुसार सशस्त्र संघर्ष व्यापक जनताको सहभागितामा हुन्छ । जसको पहलकदमी पार्टीले गर्छ।’

पार्टी एकता हुँदाको सहमति
दुई पार्टीबीच २५ कात्तिक ०७२ मा एकता भएको थियो । त्यसपछि पार्टीको नाम नेकपा क्रान्तिकारी माओवादी राखिएको थियो । एकता घोषणा हुनुभन्दा पहिले दुई पार्टीबीच वैचारिक, राजनीतिक र संगठनात्मक प्रश्नहरूमा छलफल भएपछि ६ बुँदे सहमतिपछि एकता भएको थियो।

मालेमावाद मान्ने माओवाद वा माओ विचारधारण के मान्ने भन्ने विषयमा बहस र छलफलद्वारा संयुक्त अधिवेशनबाट पारित गर्ने भनिएको थियो । क्रान्तिकारी माओवादीका पाँचजना केन्द्र्रीय कार्यालयमा थापा समूहका परी थापा र रामसिंह श्रीस छन् । केन्द्रीय सचिवालयमा रहेका १९ मध्ये ६ जना थापा समूहका छन् । जसमा सीताराम तामाङ, केबी गुरुङ, तेजबहादुर परियार, प्रेमनाथ सुवेदी, कमल चौधरी र नागेन्द्र राई छन् । तर, ९५ केन्द्रीय सदस्यमा थापा समूहका २० जनाभन्दा धेरै छन् ।

यसकारण माओवाद मान्न सकिँदैन
श्रीस र तामाङले माओवाद मान्न नसकिने भन्दै पाँच बुँदामा असहमति राखेका छन् । माओले नेतृत्व गरिरहेका वेला नै चिनियाँ कम्युनिस्ट पार्टीभित्र व्यापाक बहस भएको र स्वयं माओले नै माओवाद राख्ने विषयलाई अस्वीकार गरी माओविचारधारा राखेको हुनाले माओवादभन्दा माओ विचारधारा नै राख्न उपयुक्त हुन्छ ।

माओले माक्र्सवाद, लेलिनवादमा जे विकास गरे त्यो युगभित्रकै कुरा भएकाले माओवाद विचारधार पदावली प्रयोग गर्दा वैज्ञानिक हुन्छ ।
निश्चित नै युगभित्र चरणहरू हुन सक्छन् । तर, चरणको आधारमा हामीले वाद थप्दै गयौँ भने त्यसले पनि समस्या ल्याउँछ । एउटै चरणमा पनि पहिलेको विचार, सिद्धान्तभन्दा आधाभूत रूपले भिन्न विचार सिद्धान्त ल्याउँदा त्यसलाई वाद भन्न सकिन्छ। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);