काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले विकासको बैकल्पिक बाटो अबलम्बन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उहाँले मुलुकको विकासका लागि पूँजीवाद र पूँजीवादको अनुकरणमा हिडेका साम्यवादी बाटोले पनि नहुने भएकाले बैकल्पिक बाटो अबलम्बन गर्नुपर्ने बताउनुभएको हो ।
स्वर्गीय विपि कोइरालाले विकास गर्दा सधै मानिसलाई केन्द्रविन्दुमा राख्नुपर्ने कुरा बताउँदै आएको स्मरण गर्दै उहाँले विपिले देखाएको बाटोमा हिड्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो “कुनै पनि विकास कुनै पनि समाजवाद कुनैपनि साम्यवाद मनुश्यलाई केन्द्रविन्दुमा राखेर गर्नुपर्छ । मनुश्य साध्य हो । मनुश्य साधन होइन । केही हुँदैन विकास हुँदैछ । दुईचारवटा मान्छे मरे मरुन । दुईचार महिला बलात्कृत भए हुन् । भन्न पाईदैन । प्रत्यक मनुश्य साध्य हो । त्यो विपिको मान्यता छ ।”
विश्वभरमा नै अहिले विकासको बैकल्पिक बाटोबारे छलफल भईरहेको भन्दै उहाँले अनाहक ऋणको बोझमा पारेर सिंगापुर र स्वीजरल्याण्डको सपना देखाएर नभई सुशासन कायम गर्दै नेपाललाई नेपाल बनाउने संकल्पमा मुलुकलाई अघि बढाउन सरकारलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो “विपीले बारम्बार भन्नुभयो विकासको पश्चिमी संस्कृतिको नक्कल गरेर नेपाल विकासको बाटोमा पुग्न सक्दैन । म नेपालका पिएचडिलाई, डाक्टरलाई, बुद्धिजीवीलाई, विद्धानलाई, प्रधानमन्त्रीलाई, राष्ट्रवादीलाई, राष्ट्रपतिलाई यस विषयमा मनन् गर्न अनुरोध गर्दछु ।”
विपीले सधै ‘चहराईरहेका घाउमा मल्हम लगाउन, गाउँमा रहेको वेरोजगारी, अर्धवेरोजारी र गुप्त वेरोजगारी सम्बोधन गर्न तथा ठुलाठुला हवाई जहाजका कुरा गरेर जनतालाई भ्रमित नबनाउन’ भन्दै आएको उल्लेख गर्दै उहाँले विकासका बारेमा विपीले देखाएको बैकल्पिक बाटोतर्फ सोच्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।




