राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाईयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाईयो

education

काठमाडौं, २२ भदौ । ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस हामी सबैको प्रण सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण भन्ने मूल नाराका साथ देशव्यापी रूपमा मनाइएको छ । हरेक वर्ष यसरी फरक फरक नाराका साथ दिवस मनाउने गरे पनि विद्यालयमा विद्यालय छोड्ने प्रवृति घटेको छैन भने पढेकाहरु पनि बेरोजगार बन्ने अवस्था विद्यमान छ । एक सय जना विद्यार्थी कक्षा १ मा भर्ना हुँदा एसईई दिनेबेलासम्म कक्षामा ६० जना मात्र विद्यार्थी बाँकी रहन्छन् ।

विद्यार्थी भर्नामा सुधार आए पनि विद्यार्थी टिकाउमा सुधार नआएको सरोकारवालाहरु बताउँछन् । शिक्षामा वर्षेनी अरबौं रकम खर्च हुने गरे पनि सिकाइ सुधार क्रमश घट्दो र लगानी अनुपातमा नतिजा नआएको सरकार माथि आरोप लाग्दै आएको छ ।

शिक्षा मन्त्रालयको तथ्याङ अनुसार प्रारम्भिक बालविकास तथा शिक्षामा कुल भर्नादर ८४.७ पुगेको छ । प्रारम्भिक बालविकासको अनुभवसहित कक्षा १ मा भर्ना हुने बालबालिकाको प्रतिशत ६६.९ पुगेको छ । प्राथमिक तह (कक्षा १ देखि ५), आधारभूत तह (कक्षा १ देखि ८) र माध्यमिक तह (कक्षा ९ देखि १२) को खुद भर्नादर क्रमशः ९६.९ प्रतिशत, ९२.७ प्रतिशत र ४६.४ प्रतिशत पुगेको छ । कक्षा ५ र कक्षा ८ सम्मको टिकाउ दर क्रमशः ८९.६ प्रतिशत र ७७.९ प्रतिशत रहेको छ ।

आधारभूत तथा माध्यमिक तहमा ७२ लाख १४ हजार ५२५ विद्यार्थी अध्ययनरत छन् भने प्रारम्भिक बालविकास तथा शिक्षामा ९ लाख ७३ हजार ९०० बालबालिकाको सहभागिता रहेको छ । लैङ्गिक समता सूचकाङ्क आधारभूत तह र माध्यमिक तहमा क्रमशः ०.९८ र १.०१ पुगेको छ ।

मुलुकभर ३५,०५५ वटा विद्यालयहरू स्थापना र सञ्चालन भएका छन् । अभिभावकको लगानी परिचालन गरी निजी क्षेत्रले नेपालको विद्यालय शिक्षामा करिब २३ प्रतिशत विद्यार्थीहरूलाई सेवा प्रवाह गरी महत्त्वपूर्ण योगदान पुर्‍याएको शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले बताउनुभयो ।

आर्थिक वर्ष २०७४ र ७५ को अन्त्यसम्ममा १५ वर्षमाथिको जनसङ्ख्याको साक्षरता दर ५८ प्रतिशत र १५ देखि २४ वर्ष उमेर समूहको साक्षरता दर ८८.६ प्रतिशत पुगेको छ । हालसम्म ५१ जिल्लाहरू साक्षर घोषणा भइसकेका छन् । वि.सं. २०७६ साललाई साक्षर नेपाल वर्षको रूपमा घोषणा गरिसकिएको छ ।

अनौपचारिक शिक्षा तथा आजीवन सिकाइको अवसर विस्तार गर्नका लागि २१५१ वटा सामुदायिक सिकाइ केन्द्रहरू स्थापना भई सञ्चालनमा आएका छन् । साक्षर नेपाल, शिक्षित नेपाली बनाउने दीर्घकालीन सोचसहित अघि बढिरहेको मन्त्रालयले जनाएको छ । तर बिगतका बहुआयामिक प्रयासको फलस्वरूप शिक्षामा पहुँच वृद्धि भए पनि शिक्षाको गुणस्तरमा अपेक्षाकृत सुधार हुनसकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);