काठमाडौं, १९ भदौ । सरकारले दुधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाएको छ । सरकारको निर्देशनमा दुग्ध विकास संस्थान (डीडीसी)ले दुई वर्षपछि दूधको मूल्य बढाएको हो ।
दुग्ध सहकारीहरु र डेरी उद्योग संघको दबाबमा सरकारले दूध प्रतिलिटर ६ रुपैयाँले बढाएको हो । बढेको मूल्य यही भदौ २१ गते शनिबारदेखि लागू हुनेछ । कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले बिहीबार दूधको मूल्य बढाउने निर्णय गरी कार्यान्वयनका लागि संस्थानमा पठाएको थियो ।
उपभोक्ताले अब प्रतिलिटर दूधको ७६ रुपैयाँ तिर्नुपर्नेछ । यसअघि दुध ७० रुपैयाँमा बिक्री वितरण हुँदै आएको थियो । नयाँ भाउ अनुसार ६९ प्रतिशत किसानले र ३१ प्रतिशत उद्योगीले पाउनेछन् । यसअघि २०७४ भदौ १ मा दूध प्रतिलिटर ६ रुपैयाँ बढाइएको थियो ।