इरास्मस परियोजना सम्पूर्ण कागजात गायब | ईमाउण्टेन समाचार

Our Network

भदौ २५ २०८३, शुक्रबार

इरास्मस परियोजना सम्पूर्ण कागजात गायब

Erasmus_logo

काठमाडौं, ९ भदौ । युरोपियन युनियनको इरास्मस परियोजनाको सम्पूर्ण कागजात गायब भएको छ। उच्च स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परियोजनाको बारेमा छनबिन गर्न त्रिभुवन विश्वविद्यालयलाई पत्र पठाएर छानबिन शुरू गर्न थालेलगत्तै उक्त कागजात गायब भएको हो।

त्रिविले जनप्रशासन क्याम्पसका क्याम्पस प्रमुख टेकनाथ ढकालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। त्रिवि पाठ्यक्रम विकास केन्द्रका पूर्व कार्यकारी निर्देशक प्रा। केशव श्रेष्ठ, सेरिडका पूर्व निर्देशक जीवनाथ धिताल र त्रिविका पूर्व लेखा नियन्त्रक शशी थापा सदस्य–सचिव रहेको उक्त समितिले छानबिन गरेको थियो।

दुई महिनाअघि परियोजनामा अनियमितता भएको तथ्यसहित नेपाल समाचारपत्रमा समाचार छापिएलगत्तै अनियमितता छानबिन गर्न मागसहित आयोगमा उजुरी दर्ता गरिएको थियो। समितिले छानबिन शुरू गर्दै गर्दा संयोजक ढकाललाई सेवा आयोगको परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण काण्डमा निलम्बन गरिएको थियो। संयोजकबाहेकको टोलीले परियोजनामा भएको अनियमितताको विषयमा छानबिन गरेको थियो।

कायममुकायम उपकुलपति एवं शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठी र उहाँका श्रीमान् प्राडा रमेशप्रसाद भट्टराईले पदीय दुरुपयोग गरी सिङ्गो विश्वविद्यालय र राष्ट्रकै गरिमा समाप्त पार्ने काम गरेको, पारिवारिक करको दायरामा छुट हुनेभन्दा बढी दोहोरो सुविधा कर छलेको र पदको दुरुपयोग गरेकोलगायत १६ बुँदे आरोपसहित उजुरी दर्ता भएको थियो। यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।