एजेन्सी, २४ साउन । विवादित कश्मीर क्षेत्रमा तनाव चर्कँदै गर्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सम्बोधनको क्रममा प्रधानमन्त्री मोदीले कश्मीरको विशेष हैसियतसम्बन्धी धारा ३७० को खारेजीको बचाउ गरेका छन् ।
मोदीले उक्त धाराले कश्मीरलाई कुनै लाभ नदिएको दाबी गरे। मोदीले सरकारको निर्णयले कश्मीरको वर्तमान सुध्रिने र भविष्य सुरक्षित हुने दाबी गरेका छन् । उनले जम्मू–कश्मीरलाई फेरि पूर्ण राज्य बनाउने दाबी गरे ।
यसैबीच भारत प्रशासित कश्मीरमा ३ सयजनाभन्दा धेरैलाई पक्राउ गरिएको बताइएको छ । त्यहाँ इन्टरनेट तथा फोन लाइन बन्द छन्। अस्थायी हिरासत कक्षमा त्यहाँका राजनीतिज्ञ, अभियानकर्मी, अगुवा, व्यापारी तथा कलेजका प्राध्यापक राखिएका छन् ।
भारत प्रशासित कश्मीरमा गरिएका कडाइहरूबारे गम्भीर चासो व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घले त्यहाँ मानवाधिकारको स्थिति झन् बिग्रिन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । राष्ट्रसङ्घका एक प्रवक्ताले कश्मीरमा सञ्चार बन्द गरिएको, नेताहरूलाई पक्राउ गरिएको र राजनीतिक भेला गर्न प्रतिबन्ध लगाइएकोबारे चासो व्यक्त गरेका हुन्।




