माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको रहस्यमय मृत्यु (विज्ञप्ति सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको रहस्यमय मृत्यु (विज्ञप्ति सहित)

Shalikram-pudasaini

काठमाडौं, २१ साउन । यस माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको मिति २०७६ साउन २० गते रहस्यमय मृत्यु भएको समाचारले हामी मर्माहत र स्तब्ध भएका छौं । चितवनमा भएको यो रहस्यमय मृत्यु घटनाको सत्य, तथ्य यथाशीघ्र बाहिर आउने हामीले विश्वास लिएका छौं । विगत डेढ महिनादेखि यस माउण्टेन टेलिभिजनमा कार्यरत पुडासैनी जुझारु, सशक्त र उदयीमान पत्रकारको रुपमा आफ्नो क्षेत्रमा क्रियाशील रहँदै आउनु भएको थियो ।

उहाँले खासगरी समाजमा देखिएको विकृति र विसंगतिविरुद्ध आफ्नो आवाज पत्रकारितामार्फत सशक्त आवाज उठाउँदै आउनु भएको थियो ।निडर स्वभावका पत्रकार पुडासैनीले यातायातमा भएको सिण्डिकेट, बसपार्कमा बस व्यवसायीको अनियमितता, एनजिओको नाममा भएको ठगी, वैदेशिक रोजगारको नाममा भएको ठगी, भूमाफियाहरुको चलखेल जस्तो विषयलाई मिसन न्यूजमा सशक्त ढंगले उठाउँदै आउनु भएको थियो । समाचार प्रसारणपछि कतिपय घटनामा दोषीलाई प्रहरीले पक्राउ गरेको र विदेशमा अलपत्र परेका नेपालीको उद्धार समेत भएको थियो ।

यसरी समाजमा भएका विकृति र विसंगतिविरुद्ध सशक्त, निर्भिक र जुझारु पत्रकार शालिकराम पुडासैनी समाचार संकलनको सिलसिलामा चितवन पुग्नु भएको थियो । चितवनस्थित पोखरा बसपार्कमा रहेको होटल कङगारुमा पुडासैनीलाई मृत अवस्थामा भेटिएको छ । कोठाको प्रकृतिलाई हेर्दा पत्रकार पुडासैनीको हत्या भएको आशंका गरिएको छ । बास बसेको होटल भित्रै पंखामा झुण्डिएको अवस्थामा एउटा खुटृा झुण्डिएको र अर्काे खुटृाले खाटमा टेकिएको फोटोहरु सार्वजनिक भएको छ । यो घटनाको सूक्ष्म अनुसन्धान गरी सत्य, तथ्य सार्वजनिक गरी दोषीमाथि कारबाहीको लागि माउण्टेन टेलिभिजन जोडदार माग गर्दछ । घटनाको अनुसन्धानमा साथ र सहयोग गर्न माउण्टेन टेलिभिजन नेपाल पत्रकार महासंघ, चारै तहका सुरक्षा निकाय, नेपाल सरकार तथा आम नागरिक समक्ष हार्दिक अपिल गर्दछ ।

समाचार संकलनकै सिलसिलामा भएको रहस्यमय मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं । यस दुःखद घडीमा उहाँको शोक सन्तप्त परिवारप्रति धैर्य धारण गर्ने शक्ति प्राप्त होस भनी भगवानसँग प्रार्थना गर्दछौं ।

माउण्टेन टेलिभिजन परिवार
मितिः२०७६।०४।२१

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);