काठमाडौं । गएको भदौ १० गते त्रिशूली तथा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ ।
नदी तटीय क्षेत्रमा रहेका प्रमुख बस्तीहरू टिमुरे, स्याँप्रुबेंसी,त्रिशूली, बट्टार र देवीघाट लगायतका स्थानमा बाढीले व्यापक भौतिक तथा मानवीय क्षति पु¥याएको हो । नदीको जलस्तर बढेर बस्तीमा पसेपछि ठूलो संख्यामा निजी आवास, कृषि योग्य जमिन र सार्वजनिक संरचनाहरूमा क्षति पुगेको छ । बाढीका कारण विस्थापित भएका परिवारहरू हाल बिचल्लीमा परेका छन् । प्राप्त जानकारीअनुसार प्रभावित क्षेत्रहरूमा अहिले सरकारी निकाय, सुरक्षाकर्मी र स्थानीय स्वयंसेवकहरूको सक्रियतामा उद्धार तथा राहतका कार्यहरू सञ्चालन भइरहेका छन् । बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको शव संकलन र व्यवस्थापनको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ । साथै, बेपत्ता भएकाहरूको खोजी कार्य समेत जारी रहेको छ । स्थानीय प्रशासनले बाढीबाट भएको क्षतिको यकिन विवरण संकलन गरिरहेको र पीडितहरूलाई तत्काल आवश्यक खाद्यान्न तथा अस्थायी बसोबासको व्यवस्था मिलाउन पहल भइरहेको जनाएको छ । नदी तटीय क्षेत्रमा अझै पनि जोखिम कायमै रहेकाले शतर्कता अपनाउन स्थानीय बासिन्दालाई आग्रह गरिएको छ । हालसम्म ७ सय बढीको शव फेला परेको छ । करिव २ हजार ५ सय बढी नागरिक सम्पर्क बिहीन छन् ।




