काठमाडौं, १२ साउन । सांसदहरुले विज्ञापन बोर्ड गठन गर्ने सरकारको प्रस्ताव संविधानमा उल्लेख गरिएको समावेशी सिद्धान्त विपरित भएको दावी गर्दै मान्य नहुने अडान लिएका छन् ।
संसदको विकास तथा प्रविधि समितिको आईतबारको बैठकमा ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै सांसद जिपछिरिङ लामाले विज्ञापन बोर्ड गठन गर्ने सरकारको प्रस्ताव समावेशी सिद्धान्त विपरित आएको उल्लेख गर्नुभयो। उहाँले समाबेशी सिद्धान्त विपरित आएको विधेयक मान्य नहुने अडान समेत राख्नुभयो ।
त्यसैगरी सांसद कमला रोकाले पनि महिला, दलित, जनजाति सबै समुदायको प्रतिनिधित्व नभएकाले सरकारले ल्याएको विज्ञापन बोर्ड गठन गर्ने प्रावधानमा सहमति जनाउन नसकिने स्पष्ट पार्नु भयो ।
सांसदहरुले विज्ञापन बोर्डमा महिलाहरुको प्रतिनिधित्व बढाउन पनि सरकारलाई दवाव दिएका छन् ।




