संसदीय समितिमा भाग लिँदा प्रतिपक्षको रुपमा प्रस्तुत् नहुन देउवाको सुझाव | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

संसदीय समितिमा भाग लिँदा प्रतिपक्षको रुपमा प्रस्तुत् नहुन देउवाको सुझाव

deuba

काठमाडौं, १४ साउन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय समितिमा विधेयकमाथिको छलफलमा भाग लिँदा प्रतिपक्षको रुपमा प्रस्तुत नहुन पार्टीका सांसदहरुलाई सचेत गराउनु भएको छ ।

काँग्रेस सांसद जिपछिरिङ लामाले विज्ञापन बोर्ड गठन समानुपातिक सिद्धान्तको आधारमा हुुनुपर्ने अडान लिएपछि सभापति देउवाले त्यसप्रति प्रतिवाद गर्दै संसदीय समितिमा प्रतिपक्षको रुपमा प्रस्तुत नहुन सचेत गराउनु भएको हो ।

मंगलबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा ‘विज्ञापन नियमनका लागि व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले सबै क्षेत्रमा समानुपातिक सिद्धान्तको आधारमा अघि बढ्न सम्भव नभएकाले त्यसलाई समावेशी सिद्धान्तको आधारमा अघि बढाउने व्यवस्था संविधानमा गरिएको पनि स्पष्ट पार्नुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका देउवाले पार्टीका सांसद लामालाई समानुपातिक मात्रै भनेर हुन्छ, काम गर्न सहज हुनुपर्दैन ? भनि प्रश्न पनि गर्नु भयो । उहाँले विज्ञापन बोर्ड ठूलो हुने भएकाले पनि त्यसलाई समानुपातिक सिद्धान्तको आधार गर्न नसकिने तर्क पनि गर्नु भयो ।

यता, काँग्रेस सांसद लामाले भने संविधानको व्यवस्था अनुसार सो बोर्डको गठन गर्दा समानुपातिक सिद्धान्तलाई अवलम्बन गर्नुपर्ने अडान राख्नु भएको थियो । सोही विषयलाई लिएर सभापति देउवा आफ्नै पार्टीका सांसद लामाप्रति खनिनु भएको थियो।

बैठकमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले पनि समावेशी सिद्धान्तको आधारमा विज्ञापन बोर्ड गठन गर्ने व्यवस्था संविधानमै भएकाले सोही अनुसारको प्रावधान राखिएको स्पष्टिकरण दिनु भएको थियो ।

बैठकमा काँग्रेस सांसद हिरा गुरुङले सरकारले गठन गर्ने कुनै पनि निकायमा संविधान बमोजिम ५० प्रतिशत महिलाहरुको प्रतिनिधित्व हुनुपर्ने माग गर्नु भयो । यता, काँग्रेस सांसद दिव्यमणि राजभण्डारीले विज्ञापन बोर्डमा रहने सदस्यहरुलाई दिने भत्ता पनि कानुनमै उल्लेख गरेर जानुपर्ने प्रस्ताव अघि सार्नु भयो । बैठकमा समितिका सदस्यहरुले विज्ञापन बोर्डमा नियुक्त हुने अध्यक्षलाई मात्रै तलवको व्यवस्था गर्नुपर्ने पनि बताएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);