चिनियाँ आकाशमा अब नेपाली विमान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, १२ साउन । नेपाली हवाई सेवाप्रदायक कम्पनीले उत्तरी छिमेकी चीनका विभिन्न गन्तव्यमा उडान गर्न पाउने भएका छन् । नेपाल र चीनबीच शुक्रबार बेइजिङमा हवाई सेवा सम्झौता पुनरवलोकन भएसँगै नेपाली कम्पनीलाई पनि चीनमा उडान भर्ने बाटो खुलेको हो । यसअघि दुवै मुलुकबीच सम्झौता भए पनि चीनले नेपाली जहाजलाई आफ्नो मुलुकमा उडान अनुमति दिइरहेको छैन ।

“चिनियाँ पक्षले चाँडै नै नेपाली हवाई सेवाप्रदायक कम्पनीलाई उडान अनुमति दिने आश्वासन पाएका छौं,” वार्तामा सहभागी एक नेपाली प्रतिनिधिले भने, “चाँडै नै नेपाली विमान कम्पनीले उडान अनुमति पाउने छ, चिनियाँ पक्ष नेपाली विमान कम्पनीलाई उडान अनुमति दिन सकारात्मक रहेको पाएका छौं ।”

अधिकारीहरूका अनुसार आउँदो अक्टोवर वा नोभेम्बरमा नेपाल वायुसेवा निगम र त्यसअघि नै निजी लगानीको हिमालयन एयरलाइन्सले उडान अनुमति पाउने सम्भावना छ । यद्यपि, चिनियाँ पक्षले उडान अनुमति दिनुअघि नेपाल नागरिक उड्डयन प्राधिकरण र निगमको सेफ्टी अडिट गर्न चाहेको छ । उसले अडिटको लागि आह्वान गरेसँगै प्रक्रिया अगाडि बढाएर उडानको लागि चाँडै ढोका खोल्नसमेत सकारात्मक देखिएको छ ।

अहिले चीनबाट ६ वटा वायुसेवा कम्पनीले नेपालमा उडान भरिरहेका छन् । विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीका अनुसार चीनबाट चाइना इस्टर्न, एयर चाइना, चाइना साउदर्न, सिचुवान एयरलाइन्स, हङकङबाट ड्र्यागन एयर र तिब्बत एयरलाइन्सले काठमाडौंमा हप्तामा साढे ४ दर्जनभन्दा बढी उडान गर्दै आएका छन् ।

निगमले एयरबस ३३० बाट ग्वान्जाओमा उडान भर्ने आन्तरिक तयारी गरिरहेको छ भने हिमालयन एयरलाइन्सले बेइजिङ र ल्हासा उडान गर्ने तयारी गरिरहेको छ । हिमालयनले भने न्यारोबडी ३१९ विमान ल्याएर उडान गर्ने तयारी रहेको छ । २०६४ अघि निगमको विमानले जापानको ओसाका उडान गर्दा चीनको सांघाइलाई ट्रान्जिट बनाएर उडान गर्दै आएको थियो । करिब १२ वर्षपछि नेपाली विमान चीन जाने बाटो खुल्न लागेको हो ।

५ वर्षपछि नेपाल र चीनबीच हवाई सेवा सम्झौता पुनरावलोकन भएको हो । नयाँ सम्झौताअनुसार चिनियाँ वायुसेवा प्रदायक कम्पनीले हप्तामा नेपालमा ९८ र नेपाली हवाई सेवाप्रदायक कम्पनीले चीनमा ९८ उडान गर्न पाउने गरी सम्झौता भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);