काठमाडौं, ७ साउन । अविरल वर्षाले गुल्मीको सत्यवती गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले घर बगाउँदा ९ जनाको मृत्यु भएको छ ।
त्यसैगरी पहिरोमा परेर ४ जना सम्पर्कबिहीन भएका छन् । अबिरल बर्षासंगै गएराती सत्यवतीको विभिन्न स्थानमा पहिरो गएको थियो । पहिरोले घर बगाउँदा सत्यवती गाउँपालिका–३ को सिङ्दीमा एकाघरका आमा छोराको मृत्यु भएको छ भने सत्यवती–३ कै कसिङ्थलामा २ जनाको ज्यान गएको गएको छ ।
त्यसैगरी सत्यवतीकै वडानम्बर ४ को लिम्घा भीरकुनामा पहिरोले घर पुरिदा ५ जनाको मृत्यु भएको छ । लिम्घाको भीरकुनामा माथिल्लो भाग र पूर्वबाट पहिरो झर्दा १० घर भन्दा बढीका बासिन्दालाई सुरक्षित स्थानमा लैजाने प्रयास भइरहेको जनाइएको छ ।
त्यहाँ अझै पनि २० बढी घरहरु जोखिममा रहेको स्थानीयले बताएका छन् । बाटोमा पहिरो गएका कारण प्रहरीलाई घटनास्थलमा पुग्न समय लागेको प्रहरीले जनाएको छ ।