फेरि भारी वर्षा हुने सम्भावना | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

फेरि भारी वर्षा हुने सम्भावना

barsha

काठमाडौं, ५ साउन । पर्दै–रोकिँदै गरेको मनसुनी वर्षाले फेरि सक्रिय हुने छाँट देखाएको मौसमविद्हरू बताउँछन् । असार २६, २७ र २८ गते अविरल परेको वर्षाका कारण मध्य र पूर्वका नदीमा बाढी आउँदा तराई क्षेत्र डुबानमा परेको थियो । त्यसपछि मत्थर हुँदै गएको वर्षा शनिबारदेखि फेरि सक्रिय हुने बाटोमा अग्रसर रहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो ।

“शनिबार र आइतबार हुँदै सोमबार पुग्दा मनसुनी वर्षा भारी वर्षामा परिणत हुने सम्भावना छ,” उहाँले भन्नुभयो, “मध्य र पूर्वका अधिकांश भूभागमा भारी वर्षा हुनसक्छ । ” त्यसका लागि अहिलेदेखि नै आकाशमा मनसुनी प्रणालीले पकड जमाउँदै गएको उहाँले बताउनुभयो ।

विशेषगरी काठमाडौँ क्षेत्रमा अबको केही दिन भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता राति र दिनमै पनि केही समय चर्को वर्षा राजधानीमा हुने गरेको छ । निकै आकाश खुले पनि छिनमै बादल लागेर भारी वर्षा भइरहँदा राजधानीका ठूला तथा साना नदीमा बाढी आउन सक्ने उहाँ बताउनुहुन्छ ।

मनसुनको न्यूनचापीय रेखा नेपालको दक्षिणमा रहे पनि बङ्गालको खाडीबाट नेपाल प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको असरले मध्य र पूर्वमा मनसुन फेरि सक्रिय हुन थालेको उहाँको भनाइ थियो । अबको तीन दिन देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने भविष्यवाणी महाशाखाले गरेको छ ।

अचानक पानी पर्ने र रोकिने गर्दा पनि बाग्मती, विष्णुमती लगायतका नदीमा जलसतह बढ्ने–घट्ने प्रक्रिया चलिरहेकाले सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले भनेको छ । दुई÷तीन दिन बहाव सतर्कता तहभन्दा तल रहे पनि साउन ८ र ९ ताका मध्य तथा पूर्वी भेगको नदीको बहाव उच्च हुने भएकाले सतर्कता अपनाउनुपर्ने भनाइ महाशाखाको छ । जलविद् सुनिल पोखरेलले भन्नुभयो, “कन्काई, बाग्मती लगायतका नदीमा बाढी उच्च हुने सम्भावना छ, अहिले पनि केही नदीले सतर्कता तह पार गर्ने र तल झर्ने गरिरहेको अवस्था हो । ”

साना नदीमा जति बेला पनि बाढी आउन सक्ने भएकाले स्थानीयवासीलाई जिउज्यानको ख्याल गरेर यात्रा गर्न उहाँले सुझाउनुभयो । लगातारको वर्षाका कारण यसपटक पहाडी भेगमा पहिरोको उच्च सम्भावना रहेको मौसमविद् औँल्याउँछन् । यो समाचार गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);