मनसुन सक्रिय: बढ्दै बाढीपहिरोको जोखिम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मनसुन सक्रिय: बढ्दै बाढीपहिरोको जोखिम

barsha

काठमाडौं, २६ असार । मनसुनी गतिविधि सक्रिय भएसँगै आइपर्ने प्राकृतिक विपद्को जोखिम कम गर्न सम्बन्धित निकाय थप चनाखो भएका छन् ।

मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले निरन्तर वर्षाको क्रम अझै केही दिन रहने भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष सतर्कता अपनाउन आह्वान गरेको छ । यस अवधिमा नेपालको अधिकांश स्थानमा वर्षा हुने र केही स्थानमा भारी वर्षा हुने र एक÷दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।

“काठमाडौँ उपत्यकामा पूर्ण बदली छ,” उहाँले थप्नुभयो, “अन्यत्र धेरैजसो स्थानमा मध्यम खालको बदली भइरहेको छ । ” उहाँका अनुसार गएको २४ घण्टामा सबैभन्दा धेरै बुटवल भैरहवा क्षेत्रमा ६२ मिलिलिटर पानी परेको छ । त्यसपछि विराटनगर क्षेत्रमा ४२ मिलिलिटर, सिमरामा ३४ मिलिलिटर, दाङमा २१, नेपालगञ्जमा १७, काठमाडौँ उपत्यकामा १५, पोखरामा र ताप्लेजुङमा १३÷१३ मिलिलिटर पानी परेको छ । “मनसुनको न्यून चापीय क्षेत्र नेपाल र भारतको सिमानामा आइपुगेकाले पनि बढी वर्षा भएको हो,” बासीले थप्नुभयो, “यसले बङ्गालको खाडीको बाष्पीय हावा तानिरहेको छ । ”

बाढी पूर्वानुमान महाशाखाले बढ्दो वर्षात्का कारण नदीको बहाव बढ्नाले तराईका केही क्षेत्रमा आकस्मिक बाढी आउने र डुबान हुनसक्ने जनाएको छ । महाशाखामा जलविज्ञ विनोद पराजुली र सुनिल पोखरेलसहित प्रभाकर यादव, सञ्जीव कर्माचार्य, दुर्गा घिमिरे लगायतका कर्मचारी निरन्तर नदीको सतह घटबढको अवलोकनमा जुट्नु भएको छ । भर्खरै बबरमहल सरेको महाशाखाको व्यवस्थापन भने लथालिङ्ग छ तर पनि बाढीको पूर्वसूचनालाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिइएको छ ।

“पूर्वी क्षेत्रको प्रदेश १ को चुरे र पहाडी क्षेत्र प्रदेश २ र ३ का चुरे र पहाडी क्षेत्रका स्थानीय नदीमा आकस्मिक बाढी आउन सक्नेछ,” महाशाखाका जलविज्ञ विनोद पराजुलीले भन्नुभयो, “काठमाडौँका साना र मझौला नदी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र चुरे शिवालिक क्षेत्रबाट बहने नदीमा आकस्मिक बाढी आउने सम्भावना छ । ”

बेसिनका हिसाबले मझौला नदी कन्काई, कमला र बाग्मती, साना नदीमा पूर्वको मेची, विरिङ, निन्दा, पथरी, मोरङ, सुनसरी, ईलामबाट बहने साना नदीहरू, उदयपुरको त्रियुगा, सप्तरीको खाँडो, महोत्तरीको रातु, रौतहटको लालबकैयामा बाढीको उच्च जोखिम छ । ती नदीले छोएका होचा भू–भाग डुबानमा पर्ने हुँदा केही बस्ती अन्यत्र सार्नुपर्ने अवस्था आउन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने पराजुलीले बताउनुभयो ।

बिहीबारदेखि भने पश्चिमका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर क्षेत्रका नदीमा बाढीको जोखिम बढ्नेछ । भेरी नदीको बहावले सतर्कताको तह छोइसकेकाले निरन्तर वर्षा कायम रहे तटीय क्षेत्रमा जोखिम बढ्ने उहाँले जानकारी दिनुभयो । पराजुलीका अनुसार वर्षात्ले गलिसकेको पहाडी भेगमा भने पहिरोको खतरा बढ्दैगएको छ । प्रदेश १, ३, ५, ६ र ७ का पहाडी भेगमा पहिरोको जोखिम बढेकाले त्यस क्षेत्रका बासिन्दाले सतर्कता अपनाउन पर्ने अवस्था आइसकेको छ ।

काठमाडौँमा भने सतर्कता तहमा पुगिनसके पनि लगातार वर्षा भएमा डुबान हुने सम्भावना छ । यहाँका भौतिक संरचनाको चाप, साँघुरा नदी र पानीको निकास अन्यत्र नभएकाले पनि चाँडै नै नदीको सतह माथि आउने गरेको छ । सन् १९९३ ताका २३६ मिलिलिटर पानी पर्दा उपत्यका डुबानमा परेको थियो तर गत वर्ष १३० मिलिलिटर पानी परेकै भरमा भक्तपुर डुबानमा परेको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);