मेलम्ची खानेपानी अझै डेढ वर्ष कुर्नुपर्ने | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०७९, मंगलबार

मेलम्ची खानेपानी अझै डेढ वर्ष कुर्नुपर्ने

melamchi

काठमाडौं, ५ साउन । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा ल्याउने काम सुरु भएको तीन दसक नाघ्यो । काम सुरु भएको ३१ वर्ष हुँदा पनि मेलम्चीको पानी आएको छैन । काम फटाफट भएमा अझै डेढ वर्ष कुर्नुपर्ने देखिएको छ ।

गत जेठ ६ गते मन्त्रिपरिषद् बैठकले मेलम्ची खानेपानी आयोजनाको आवश्यक निर्माण कार्य गर्न मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिएपछि आयोजनाले निर्माणको बाँकी काम गर्न गएको जेठ १७ गते बोलपत्र गरेको छ । सुरुङ निर्माणका लागि दुई र हेडबक्स निर्माणका लागि दुईवटा कम्पनीले बोलपत्र दर्ता गराएका थिए ।

तीमध्ये एउटा चिनियाँ कम्पनीको बोलपत्र छ । सबै बोलपत्रको प्राविधिक मूल्याङ्कन गरी स्वीकृतिका लागि एसियाली विकास बैङ्क ९एडीबी०मा पठाइएको जानकारी समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले दिनुभयो । एडीबी आयोजनाको प्रमुख लगानीकर्ता हो । कार्यकारी निर्देशक कँडेल भन्नुहुन्छ, “बोलपत्रको प्राविधिक मूल्याङ्कन गरी एडीबीमा पठाएका छौँ, दुई–तीन हप्तामा सम्झौता हुनसक्छ, आउने २०७७ असार मसान्तसम्म अधिकांश काम सक्ने योजना छ । ”

सरकारको उच्च प्राथमिकता
राजधानीलाई पिउने पानी उपलब्ध गराउने सपना बोकेको मेलम्चीको बाँकी कामको लागत दुई अर्ब ५० करोड रुपियाँ अनुमान गरिएको छ । सरकारले मेलम्चीका लागि तीन अर्ब रुपियाँ तथा याङ्री र लार्के परियोजनाका लागि थप तीन अर्ब रुपियाँ गरी छ अर्ब रुपियाँ बजेट विनियोजन गरेको छ ।

मेलम्चीको पानीले मात्रै राजधानीवासीको माग पूरा गर्न नसक्ने भएकाले सरकारको दीर्घकालीन सोचअनुसार याङ्री र लार्के खोलाको पानी पनि मेलम्चीमा ल्याउने योजना छ । तीन दसकअघि पञ्चायत ढलेसँगै अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी ल्याएर जनतालाई खानेपानीका साथै सडक पखाल्ने आश्वासन दिनुभएको थियो । त्यसपछिका हरेक सरकारको उच्च प्राथमिकतामा रहँदै आए पनि मेलम्ची भने परपर सर्दै गइरहेको छ ।

मेलम्ची, याङ्री र लार्के तीनवटा खोलाको पानी जम्मा गरेर ल्याउँदा काठमाडौँमा दैनिक ५२ करोड लिटर पानी उपलब्ध हुने छ । हाल उपत्यकामा दैनिक ४५ करोड लिटर पानीको माग छ भने आपूर्तिचाहिँ ज्यादै न्यून अर्थात् वर्षात्मा १६ करोड लिटर मात्र छ । अझ सुक्खायाममा १२ करोड लिटर मात्रै आपूर्ति छ । सन् १९८८ मा अस्टे«लियन कम्पनी एसएसईसीले काठमाडौँमा पानीको समस्याको दीर्घकालीन समाधानका उपायहरूको अध्ययन गरेको थियो । त्यसको एक दसकपछि सन् १९९८ मा ब्रिटिस कम्पनी बिन्नी पार्टनरले मेलम्ची आयोजनाको डीपीआर बनाएको थियो ।

सन् १९९८ मा मेलम्ची खानेपानी विकास समिति गठन गरी लगानी जुटाउने, परामर्शदाता ल्याउने, वातावरणीय मूल्याङ्कन गर्ने लगायतका काम भएका थिए । स्थापनादेखि सन् २००७ सम्म मेलम्चीमा सडक लगायतका पूर्वाधारहरूको निर्माण गरियो । सन् २००० मा सुरु गरी २००७ मा सक्ने सम्झौता पनि भएको थियो तर काम भएन । यो समाचार गोरखापत्र दैनिकमा लेखेको छ ।

अघिल्लो समाचार