काठमाडौं, २६ असार । सवारीसाधनको बढ्दो प्रयोगसँगै उपत्यकाका सहरी सडकहरू साँघुरा लाग्न थालिसकेका छन् । पैदलयात्रा कठिन भएको छ । सडककिनार गाडी तथा मोटरबाइक पार्किङ स्थलजस्ता भएका छन् । ट्राफिक जाम त सहरवासीको आम समस्या भएको लामो समय भइसक्यो । जे होस्, सडक खनिज इन्धनबाट चल्ने सवारीसाधनको एकलौटीजस्तै भएको छ ।
यस्तो अवस्थामा सडकमा साइकल लेन सम्भव छ त रु हामी धेरैलाई कताकता असम्भव जस्तो लाग्छ तर ललितपुर महानगरपालिकाले यसलाई सम्भव बनाउँदैछ । ललितपुर महानगरपालिकाले अहिले भएकै सडकमा साइकलका लेन व्यवस्थित गर्ने काम थालनी गरेको छ । ललितपुरको कुपण्डोलदेखि लगनखेलसम्म साइकल लेन बनाउन लागिएको हो । साइकल लेन निर्माणका लागि महानगरपालिकाले बोलपत्र आह्वान गरिसकेको छ ।
कुपण्डोलदेखि लगनखेल र पुलचोकदेखि मङ्गलबजारसम्म साइकल लेन बनाउने योजनाअनुरूप बोलपत्र खोलिएको ललितपुर महानगरपालिकाका सूचना अधिकृत रुद्र गौतमले जानकारी दिनुभयो । ललितपुरलाई साइकल सिटीको रूपमा विकास गर्ने दीर्घकालीन योजनाअनुसार साइकल लेनको विकास गर्न लागिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार ललितपुर महानगरपालिकाको सवारी व्यवस्थापन गुरुयोजना ९एमटीएमपी०को एक अङ्गका रूपमा साइकललाई राखिएको छ । त्यसकारण साइकल प्रवद्र्धन गर्ने योजना महानगरपालिकाको रहेको छ ।
सूचना अधिकृत गौतम भन्नुहुन्छ, ‘‘सडक साइकलमैत्री नभए पनि मानिसले साइकल त प्रयोग गरिरहेका छन् । उनीहरूको सुरक्षाका लागि पनि लेन बनाउन जरुरी छ । ’’ साथै नगरमा साइकल प्रयोगकर्ता बढुन् भन्ने उद्देश्य पनि यस योजनाभित्र रहेको उहाँको तर्क छ । साइकल लेन भएपछि थप साइकल प्रयोगकर्ता पनि प्रोत्साहित हुने महानगरपालिकाले जनाएको छ ।
भएका साइकल प्रयोगकर्ता र भविष्यका प्रयोगकर्ताको सडक सुरक्षाको दायित्वबोध गरी साइकल लेनको अवधारणा अगाडि आएको गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘वातावरणमैत्री सवारीसाधन प्रवद्र्धन गर्न साइकल लेन बनाउने कदमको यो सुरुवात हो । यो निरन्तर आगामी वर्षहरूमा पनि अगाडि चल्नेछ । ’’ महानगरपालिकाले साइकल प्रयोगसम्बन्धी कानुन नै बनाएर साइकल प्रयोगको प्रवद्र्धन र साइकलयात्री सुरक्षाका विषयलाई व्यवस्थित गर्न लागिएको सूचना अधिकारी गौतमले जानकारी दिनुभयो । ललितपुरको यो साइकल लेनको डिजाइन नेपाल साइकल समाजको प्राविधिक सहयोगमा तयार भएको हो ।
ललितपुर महानगरपालिकाका वरिष्ठ इन्जिनियर रामरतन शाह अहिलेको स्थितिमा साइकल लेन सञ्चालन गर्ने चुनौतीपूर्ण काम गर्न महानगरपालिका तयार भएको बताउनुभयो । सडकको दुवैतिर १।२ मिटर चौडाइको साइकल लेन बनाइनेछ । चार इन्चको मार्किङ गरी ठाउँठाउँमा साइकलको लोगो र ट्राफिक चिह्न राखिनेछन् । यही लेनलाई जोड्दै ठाउँठाउँमा साइकल स्ट्यान्डहरू हुनेछन् । अहिले १० ठाउँमा साइकल स्ट्यान्ड बनाउने काम सुरु भइसकेको इन्जिनियर शाहले जानकारी दिनुभयो ।
साइकल लेन निर्माणका लागि ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५० लाख रुपियाँ बजेट खर्च गर्नेछ । साउनको अन्तिम हप्तादेखि काम सुरु गर्ने योजनासहित महानगरपालिका अगाडि बढेको छ । इन्जिनियर शाहका अनुसार सरासर काम भए निर्माण थालेको छ महिनामा साइकल लेन तयार हुनेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।