एजेन्सी, २० असार । इंग्ल्याण्ड र वेल्समा जारी एकदिवशीय विश्वकप क्रिकेटमा लिग चरणको अन्तिम खेलमा वेष्ट इण्डिजसँग २३ रनले पराजित भएपछि अफगानी टोलीै घर फर्किएको छ ।
१० टोली सम्मिलित विश्वकपको राउण्ड रोविन लिग चरणमा ९ खेल खेल्दा अफगानिस्तानले एउटा पनि जित निकाल्न सकेन । वेष्ट इण्डिजबिरुद्ध ३ सय १२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले पारीको अन्तिम बलमा अलआउट हुनुअघि २८८ रनमात्र जोड्न सक्यो । सुरुआत राम्रो गर्न नसके पनि उसका मध्य क्रमका इक्रम अलिखिल र रहमत साहले अर्धशतकीय पारी खेलेपछि सहज अवस्थामा पुगिसकेको थियो ।कप्तान गुल्बादिन नइव ५ रनको स्कोरमा आउट भए पनि रहमत र इक्रमले दोस्रो विकेटका लागि १३३ रनको शतकीय साझेदारी गरेका थिए । रहमत ७८ बलमा १० चौकासहित ६२ रन बनाएर आउट भए । ९३ बलमा ८ चौकासहित ९६ रन बनाएर खेलिरहेका इक्रम क्रिश गेलको बलमा एलबीडब्ल्यूको धरापमा परेपछि वेष्ट इण्डिजले तेस्रो विकेट गुमायो । त्यसपछि कसैले पनि लामो साझेदारी गर्न सकेनन् । नाजिवुल्लाह ३१ रनको स्कोरमा रनआउट भए । पूर्व कप्तान अस्घर अफ्गानले ३२ बलमा ४ चौका र १ छक्कासहित ४० रन जोडे पनि पर्याप्त भएन । यसअघि लिड्समा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३११ रनको योगफल खडा गरेको थियो ।




