पाल्पा, १४ असार । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले प्रेस स्वतन्त्रता विना संघीय लोकतान्त्रिक गणतन्त्र सफल हुन नसक्ने बताउनु भएको छ ।
पाल्पामा शुरु भएको दलित समुदायका पत्रकारहरूको राष्ट्रिय सम्मेलनमा पूर्व राष्ट्रपति यादवले प्रेस स्वतन्त्रता बचाउनु पत्रकारहरुको धर्म भएको बताउनुभयो । यादवले लोकतन्त्रमा प्रेस स्वतन्त्रता र मानवअधिकार एउटै सिक्काका दुई पाटो भएकोले एउटा विषय कमजोर भएमा लोकतन्त्र नै धरापमा पर्ने बताउनु भयो ।
संविधानले सवै जात जाति, भाषाभाषी, लिङ्ग, धर्म वर्ण समुदायको अधिकारलाई सुनिश्चत गरेकोले संविधान पुर्ण रुपमा कार्यान्वयनको लागि नागरिकहरुले आवाज उठाउनु पर्ने बताउनु भयो । दुई दिन सम्म चल्ने सम्मेलनमा देशभरका ७७ जिल्लाबाट करीब एक सय ५० जना दलित पत्रकारहरुको सहभागिता रहेको छ ।




