काठमाडौं, ११ असार । नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानमा संलग्न केन्द्रीय प्रतिनिधिहरुसंगको छलफल सुरु गरेको छ । कांग्रेसले पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्य सहित जागरण अभियानका केन्द्रीय प्रतिनिधिसंग छलफल गर्न लागेको हो ।
छलफल र अन्तरक्रियाबाट प्राप्त सल्लाह सुझाव पार्टीको सुदृढीकरणका लागि अगामी रणनीति तय गर्न फलदायी हुने विश्वास पार्टी नेतृत्वले लिएको छ । पार्टी संगठनको सुदृढीकरणका लागि भन्दै कांग्रेसले बैशाख २५ देखि जेष्ठ २५ सम्म ७७ वटै जिल्लामा राष्ट्रिय जागरण अभियन संचालन गरेको थियो ।
सो अभियानमा पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिका रुपमा जिल्ला गई १ महिनासम्म गरिएको कार्यक्रम, अन्तरक्रिया र प्राप्त कार्यकर्ताको धारणाबारे प्रतिनिधिले नेतृत्वलाई जानकारी गराउने छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल तथा अन्तरक्रियाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले जिल्ला खटिएका केन्द्रीय प्रतिनिधिबाट प्राप्त सुझावहरुबाट पार्टीलाई थप उर्जा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो “प्रतिकूल अवस्थामा पार्टी सुदृढीकरणक लागि गर्नुपर्ने राजनीतिक कार्ययोजना के के हुन सक्छन् ? पार्टीलाई थप सुदृढ र गतिशिल बनाउनका लागि जिल्लामा के कस्ता समस्या विद्यमान छन् ? भन्ने विषयमा सबैले केन्द्रमा बुझाउनुभएको आ आफ्ना प्रतिवेदननमा उल्लेख भएकै होलान् । पार्टीले अबलम्बन गर्नुपर्ने रणनीति, कार्यनीति अनुभवको आधारमा प्रधान गर्ने यस अन्तरक्रियाले दोश्रो र तेश्रो चरणको कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुर्याउने विश्वास मैले लिएको छु ।”

राष्ट्रिय जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधि सिन्धुली जिल्ला सभापति श्याम घिमिरेले स्थानीय कार्यकर्ताले पार्टीमा सैद्धान्तिक सुधारको अपेक्षा राखेको बताउनुभयो । उनीहरुले विशेष गरेर वर्तमान सरकारका असफलताको प्रतिकार गर्दै राष्ट्रिय राजनीतिलाई बदल्ने काममा पार्टीको भुमिका खोजेको उहाँले बताउनुभयो ।
त्यसैगरी पार्टीभित्रको अन्तरघात र गुटबन्दीको अन्त्य, समयमा नै भातृसंगठनको अधिवेशन लगायत आन्तरिक सुधारको पनि अपेक्षा कार्यकर्ताले राखेको उहाँले बताउनुभयो ।
भोलि विहीबारसम्म चल्ने अन्तर्क्रियामा ७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले जिल्लामा भएका गतिविधि, संगठनात्मक अवस्था, १ महिने राष्ट्रिय जागरण अभियान अन्तर्गत भएका कार्यक्रम र त्यसबाट प्राप्त परिणामहरुको साथै त्यसले पार्टीलाई पार्ने वर्तमान र दुरगामी असरबारे नेतृत्वलाई जानकारी गराउने छन् ।




