आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने सरकारको अनुमान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८३, बुधवार

आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने सरकारको अनुमान

सरकारद्वाराआर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षण सार्वजनिक

काठमाडौं, १३ जेठ । सरकारले आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्नु भएको हो ।

आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उहाँले आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने अनुमान गर्नु भयो । उहाँले चालू आर्थिक वर्षमा मुलुकको अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचकहरु उत्साहजनक रहेकाले आगामी आर्थिक वर्षमा उच्च आर्थिक वृद्धिदर हुने दावी पनि गर्नु भयो ।

सर्वेक्षणमा आर्थिक क्रियाकलापमा भएको विस्तारका कारण प्रतिव्यक्ति आम्दानी बढेको उल्लेख गरिएको छ । अर्थमन्त्री खतिवडाले कूल ग्राहस्थ उत्पादनमा भएको वृद्धिसँगै बचत गर्ने क्षमता समेत बढेको बताउनु भयो ।

उहाँले विगतका धेरै दशकयता पहिलो पटक आन्तरिक बचतले कूल ग्राहस्थ उत्पादनको २० प्रतिशत नाघेको उल्लेख गर्दै यसले राष्ट्रिय पूँजी निर्माणका लागि उल्लेख्य योगदान दिने विश्वास पनि व्यक्त गर्नु भयो ।

सर्वेक्षणमा आन्तरिक तथा बाह्य लगानीका लागि आकर्षित गर्न भएको नीतिगत एवम् कानुनी सुधारको परिणाम दिगो तथा उच्च आर्थिक वृद्धिको मार्ग प्रशस्त हुँदै आएको दावी गरिएको छ । अर्थमन्त्री खतिवडाले शिक्षा, स्वास्थ्य, संचार, भौतिक पूर्वाधार एवम् उर्जा तथा भूकम्पपछिको पुननिर्माणले सामाजिक तथा भौतिक पूर्वाधार विकासको सुदृढ आधारशीला तयार हुँदै गएको देखिएको पनि स्पष्ट पार्नु भयो ।

निरपेक्ष गरिवीको रेखामुनि रहेको जनसंख्या १८ दशमलव ७ प्रतिशत
उहाँले उच्च आर्थिक वृद्धि, सामाजिक तथा आर्थिक पूर्वाधारमा भएको लगानी र विप्रेषण प्रवाहमा रहेको वृद्धिका कारण गरिबि क्रमिक रुपमा घट्दै गएको बताउनु भयो । सर्वेक्षणमा निरपेक्ष गरिवीको रेखामुनि रहेको जनसंख्या १८ दशमलव ७ प्रतिशतमा झरेको उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा प्रतिव्यक्ति आय १ लाख १७ हजार पुग्ने अनुमान गरिएको छ । अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७५/७६ मा कूल लगानी २९ प्रतिशतले वृद्धि भई २१ खरव ५७ अरव पुग्ने अनुमान गरिएको पनि बताउनु भयो ।

आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म कूल सरकारी खर्च आर्थिक वर्ष २०७४/७५ को सोही अवधिको तुलनामा २ दशमलव २ प्रतिशतले वृद्धि भई ५ खरव ४१ अरव पुगेको पनि सो आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ । त्यसैगरी आर्थिक वर्ष २०७५/७६ मा वित्तिय क्षेत्र स्थायित्वका सूचकहरु सवल रहेका पनि दावी गरिएको छ ।

अर्थमन्त्री खतिवडाले निर्यात व्यापार केही बढ्न गएको पनि बताउनु भयो । आर्थिक वर्ष २०७५/७६ को अवधिमा व्यापार घाटा ८ खरव ८८ अरव रहेको छ । अर्थमन्त्री खतिवडाले चालू आर्थिक वर्ष भित्रै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको निर्माण कार्य सम्पन्न हुने पनि बताउनु भयो । त्यसैगरी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, मध्यपहाडी लोकमार्ग र उत्तर दक्षिण लोकमार्गको काम पनि तीव्रताका साथ अघि बढाएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

अर्थमन्त्री खतिवडाले भूकम्पपछिको पुनर्निर्माणको कामले तीव्रता पाएको, नेपालमा आएका पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि भएको तथा तीन वटै तहमा कर्मचारी समायोजनपछि संघीयता कार्यान्वयनका काममा सहजता आएको पनि बताउनु भयो ।