नेपाली नागरिक युनिस अन्सारीसहित २ जना र पाकिस्तानी ३ गरी जम्मा ६ जना पक्राउ
काठमाडौं, १० जेठ । प्रहरीले ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित ३ जना पाकिस्तानी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी शैलेश थापा क्षेत्रीले भारतीय नक्कली नोट ७ करोड ६७ लाख ९४ हजारसहित पाकिस्तानका नागरिकहरु मोहम्मद अख्तार, नदिया अनवार र नासिर उद्दिनलाई पक्राउ गरिएको जानकारी दिनु भएको हो ।
त्यसैगरी उनीहरुलाई रिसिभ गर्न विमानस्थल पुगेका नेपाली नागरिक युनिस अन्सारी, उनका साला सुयल खान र गाडी ड्राईभर सुदन रानाभाटलाई पनि प्रहरीले पक्राउ गरी शुक्रबार अपरान्ह महानगरीय प्रहरी कार्यालयमा सार्वजनिक गरेको छ ।
निको र कालो दुई वटा सुटकेशमा राखिएको २ हजार दरका सो परिमाणको भारतीय नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरिएको पनि महानगरीय प्रहरी कार्यालयले जनाएको छ । अन्सारी सहितको नेपाली नागरिकहरुको पनि सो नक्कली भारतीय नोट कारोबारमा संलग्नता देखिएको पनि डिआईजी क्षेत्रीले बताउनु भयो ।
अन्सारी यस अघि पनि नक्कली भारतीय नोटको कारोबार तथा लागू औषध कारोबारको अभियोगमा थुनामा परेका थिए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।