पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०७९, शनिबार

पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या

chura

पाँचथर, ७ जेठ । पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको छ । सोमवार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटेमा दुई परिवारका ९ जनाको हत्या भएको हो । घटनामा एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९ जनाको हत्या भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी ओस्तीले बताउनु भएको छ । घटनाकी प्रत्यक्षदर्शी १२ वर्षीया किशोरी सीता खुजुमले एक समूहले धारिलो हतियार प्रहार गरी अन्धाधुन्ध हत्या गरेको बयान प्रहरीलाई दिएकी छन् ।

सीताका अनुसार, धारिलो हतियारसहित आएका समूहका सबैले मुकुन्डो लगाएका थिए । अज्ञात समूहको निशानामा सीता खुजुम पनि परेकी छन् । आक्रमणबाट उनको हात भाँचिएको छ । उनी भागेर ज्यान जोगाउन सफल भएकी छन् । उनको अवस्था गम्भीर रहेकाले उपचारका लागि प्रहरीको भ्यानमा राखेर फिदिम लगिएको छ । अज्ञात समूहले सोमबार मध्यराति ससुरा बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्मा परिवारका ९ जनाको विभत्स हत्या गरेको हो ।हत्या गरिएकामा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।

त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको छ । शेर्मा र फियाक परिवारको घरको दुरी करिब डेढ–दुई किलोमिटर टाढा छ । २ नातेदार परिवारको हत्या भएकाले पारिवारिक रिसिबी यसको कारण हुनसक्ने अनुमान गरिएको छ । पाँचथर प्रहरीले भने यसको अनुसन्धान भइरहेको जनाएको छ । घटनास्थल मिक्लाजुङ पाँचथर सदरमुकाम फिदिमबाट ६५ किलोमिटर दक्षिण पर्छ ।