पाल्पालाई चिनाउने ढाका र करुवा बनाउने व्यवसाय धरापमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पाल्पालाई चिनाउने ढाका र करुवा बनाउने व्यवसाय धरापमा

palpalai_chinaune-daka-karuwa

काठमाडौं, २ जेठ । छुट्टै पहिचान दिएको पाल्पाली ढाका तथा करुवाको जिल्ला भनेर चिनिने पाल्पामै ढाका बुन्ने र करुवा बनाउने व्यवसाय धरापमा परेको छ ।

पाल्पाको तानसेन नगरपालिका–६ की पूर्णमाया महर्जनले आफूले शुरुआत गरेको ढाकाका कपडा बनाउने व्यवसाय पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको बताउनुभएको छ । विसं २०१५ देखि ढाकाका कपडा बुन्न आफूले शुरुआत गरेको पेशा पछिल्लो समय छिमेकी देश भारतबाट आउने कपडाले पहिचान मेटाउन थालेको उहाँले गुनासो गर्नुभयो । श्रीमान्को जागिर भारतमा हुदाँ त्यही बसेर दुई वर्षसम्म चर्खा बेर्ने र हातले तान बुन्ने सीप सिकेकी पूर्णमायाले पाल्पामा आएर सबैलाई सीप सिकाउनुभएको थियो ।

कुनै बेला पाल्पामा एक हजार ५०० बढी कामदारलाई रोजगारी दिनुभएकी महर्जनलाई अहिले भने आफ्नो कारखाना नै शून्य लाग्छ । पहिले–पहिले बिहेको लगन आउने बित्तिकै चोलो पछ्यौरा तथा टोपी किन्नेको पसलमा घुइँचो लाग्ने गरेको उहाँले बताउनुभयो । पाल्पाको तानसेनमा स्वदेशी वस्त्रालय पाल्पाली ढाका कपडा उद्योग सञ्चालन गरेर विगत छ दशकदेखि सेवा दिएको स्मरण गर्दै उहाँले भन्नुभयो, “अहिलेका व्यापारीले बाहिरबाट ल्याएको ढाकालाई पाल्पाली भनेर बेचेको देख्दा दुःख लाग्छ ।” उहाँले पाल्पाली ढाकाजस्तो असली ढाका बाहिरबाट ल्याएका ढाका नहुने बताउनुभयो ।

पाल्पाली ढाकाजस्तै पाल्पाको छुट्टै पहिचान दिने पाल्पाली करुवा पनि लोपोन्मुख अवस्थामा छ । पहिले तानसेन टक्सारटोलमा २५ घरपरिवारले व्यावसायिकरूपमा सञ्चालन गरेको करुवा तयार पार्ने व्यवसाय अहिले तीन घरमा सीमित बनेको छ । करुवा बनाउने तालीम र कामसमेत दिने भने पनि यसतर्फ कसैको ध्यान नगएको करुवा उद्योगका सञ्चालक उत्तमकुमार बज्राचार्यले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “करुवा बनाउन चाहिने कोइला र काँचको अभाव त छ तर अभावका बीच व्यवसायमा काम दिन्छु भन्दा पनि कसैले चासो दिँदैनन् ।”

घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले भने पाल्पाली ढाका तथा करुवाको संरक्षणमा कार्यालयले निकै चासो दिएको जनाएको छ । कार्यालयका उद्योग अधिकृत बालकृष्ण गैरेले ढाका तथा करुवाको माग बढी भए पनि आधुनिक तवरबाट सीप हस्तान्तरणको आवश्यकता रहेकोमा जोड दिनुभयो । “पटकपटक व्यवसाय संरक्षणमा पहल गरिरहेका छौँ, तर सफल हुनसकेका छैनौँ”, अधिकृत गैरेले भन्नुभयो ।

पाल्पालाई चिनाउने ढाकाको चोली, टोपी पाल्पा आउने पाहुनालाई उपहारका रुपमा दिने अहिले पनि चलन छ । कतिपय बाहिरी जिल्ला तथा विदेशी पर्यटकले समेत पाल्पा आउँदा पाल्पाली ढाका र करुवा चिनोको रूपमा लैजाने गर्दछन् । यसको संरक्षणमा सम्बन्धित पक्षले ध्यान पुर्‍याउन नसके लोप हुने स्थानीयवासी चिन्ता व्यक्त गर्छन् । गाेरखापत्र दैनिकमा खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);