काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवाहरूलाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्न सरकारले एकीकृत ‘युथ इकोसिस्टम’ निर्माणको कार्य अघि बढाएको बताउनुभएको छ ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले छरिएर रहेका विभिन्न सरकारी संयन्त्र र कार्यक्रमहरूलाई एकीकृत गरी युवा विकासका लागि एउटै प्रणाली विकास गर्न लागिएको जानकारी दिनुभएको हो । मन्त्री यादवकाअनुसार यस इकोसिस्टमले शिक्षादेखि राष्ट्र निर्माणसम्मको युवा जीवनको पूर्ण यात्रालाई जोड्नेछ । यो प्रणाली अन्तर्गत राष्ट्रिय युवा परिषद्, नेसनल एकेडेमी अफ भोकेसनल ट्रेनिङ, ७ सय ५३ वटै स्थानीय तहमा रहेका रोजगार तथा उद्यमशीलता सेवा केन्द्रहरू र युवा तथा साना व्यवसायी स्वरोजगार कोष जस्ता संयन्त्रहरूलाई आवद्ध गरिने मन्त्रालयले जनाएको छ । युवाहरूले अवसर र सेवा प्राप्तिका लागि विभिन्न कार्यालय धाउनुपर्ने झन्झटिलो अवस्थाको अन्त्य गर्न यो ऐतिहासिक कदम चालिएको मन्त्री यादवको दाबी छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्क्षा’ को प्रसङ्ग उल्लेख गर्दै उहाँले फरक भूगोल, भाषा र संस्कृति भएपनि सबै युवाको साझा लक्ष्य समृद्ध जीवन र देश निर्माणमा योगदान पु¥याउनु नै रहेको बताउनु भयो । युवाहरूको ज्ञान, सीप र सकारात्मक ऊर्जालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउनु सरकारको प्रमुख प्राथमिकता रहेको उहाँको भनाइ छ ।
मन्त्री यादवले युवाहरू देशको भविष्य मात्र नभई ‘वर्तमान’ समेत भएको उल्लेख गर्दै उनीहरूको क्षमताको सदुपयोग तत्काल गरिनुपर्नेमा जोड दिनुभयो ।





