काठमाडौँ ।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीका नाममा हुने ठगी, शोषण र अनियमितताविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अपनाएको बताउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा सभाको आकस्मिक, शुन्य तथा विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले यस्तो बताउनुभएको हो । उहाँले विदेशमा रहेका नेपाली श्रमिकको सुरक्षा, स्वास्थ्य र समग्र अवस्थाप्रति सरकार पूर्ण रूपमा सचेत रहेको पनि बताउनु भयो । उहाँले विभिन्न कारणले विदेशका अस्पतालमा उपचाररत नेपाली श्रमिक तथा उद्धारको प्रतीक्षामा रहेका नेपाली नागरिकप्रति मन्त्रालय अत्यन्त संवेदनशील रहेको रहेको पनि बताउनु भयो ।
उहाँले उद्धार तथा सहयोगका लागि देशभित्रका संयन्त्र र विदेशस्थित नेपाली राजदुतावासमार्फत नियमित पहल भइरहेको उल्लेख गर्नुभयो । मन्त्री यादवले वैदेशिक रोजगारसम्बन्धी ठगीका ४० हजारभन्दा बढी उजुरी वर्गीकरण गरी निश्चित समयसीमाभित्र फछ्र्योट गरिने समेत बताउनु भयो । आगामी साउन महिनादेखि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण सेवा प्रविधिमार्फत सञ्चालन गर्ने तयारी भइरहेको समेत मन्त्री यादवले बताउनु भयो । उहाँले विश्वभर रहेका नेपाली नागरिकको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो ।




