काठमाडौं ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारको क्षेत्रमा हुने ठगीलाई न्युनिकरण गर्दै शुन्यमा पु¥याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताउनुभएको छ । मङ्गलवार ताहाचलस्थित वैदेशिक रोजगार विभागको निरीक्षणका क्रममा उहाँले वर्षौंदेखि थन्किएर रहेका उजुरीका फाइलहरूलाई व्यवस्थापन गरी दोषीमाथि कारबाही अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । मन्त्री यादवकाअनुसार वि.सं. २०५७ सालदेखि थन्किएर बसेका ४० हजारभन्दा बढी उजुरीका फाइलहरू हालै फेला परेका छन् । दशकौँदेखि कसैले चासो नदिएका यी फाइलहरूलाई विभागको नेतृत्वमा धुलो टकटकाएर व्यवस्थित गर्ने तयारी मन्त्रालयको रहेको पनि बताउनु भयो । यी सबै फाइललाई डिजिटलाइज गरेर गहिरो अनुसन्धान गरी पीडितहरूलाई न्याय दिलाउने प्रक्रिया अघि बढाइने उहाँले बताउनु भयो । वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउन मन्त्रालयले नयाँ डिजिटल प्लेटफर्मको शुरुवात गरेको छ । अब उजुरीकर्ताले अनलाइनमार्फत निवेदन दिनसक्ने र प्रणालीले नै स्वतः कानूनी ढाँचा (टेम्प्लेट) तयार गर्ने भएकाले सेवाग्राहीले महँगो कानुनी सहायता लिनु नपर्ने मन्त्री यादवले स्पष्ट पार्नुभयो ।
ठगी गर्नेहरूलाई चेतावनी दिँदै उहाँले जहाँ लुकेर बसे पनि नेपाल प्रहरी र अनुसन्धान निकायको सहयोगमा पक्राउ गरी कानूनअनुसार कारबाही गरिने बताउनु भयो । पीडितको रकम फिर्ता गराउन सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ छ । मन्त्री यादवले हालको मौजुदा ऐनलाई संशोधन गरी नयाँ युग सुहाउँदो कानून निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । वैदेशिक रोजगारीको विकल्पका रूपमा आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्न मन्त्रालयले १५ वटा विभिन्न ‘रोजगार प्याकेज’ ल्याउन लागेको र त्यसका लागि अध्ययन भइरहेको समेत उहाँले जानकारी दिनुभयो । यो प्रणालीलाई मर्यादित, पारदर्शी र श्रमिकमुखी बनाउन अहिले ‘सफाई अभियान’ चलिरहेको उल्लेख गर्दै उहाँले छिट्टै युवाहरूले स्वदेशमै रोजगारी पाउने वातावरण बन्ने विश्वास दिलाउनु भयो ।




