प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध मात्र उजुरी, साउन १२ र १३ गते सुनुवाई हुने | ईमाउण्टेन समाचार

Our Network

साउन ४ २०८३, मंगलबार

प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध मात्र उजुरी, साउन १२ र १३ गते सुनुवाई हुने

काठमाडौं ।

प्रश्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध एउटा उजुरी परेको छ । मंगलवार बसेको संसदीय सुनुवाई समिति (संयुक्त) ले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तमा प्रश्तावित कार्कीविरुद्ध परेको उजुरी खोलेको हो । प्रश्तावित निर्वाचन आयुक्त द्वय गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाविरुद्ध कुनै उजुरी नपरेको समिति सभापति वोधनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार संवैधानिक व्यवस्थाअनुसार सार्वजनिक सूचना जारी गरी १० दिनभित्र उजुरी मागिएकोमा प्रमुख निर्वाचन आयुक्तका प्रश्तावित कार्कीविरुद्ध एउटा मात्र उजुरी प्राप्त भएको हो । समितिलाई सुनुवाई प्रक्रियासम्बन्धी एउटा सुझाव पनि प्राप्त भएको उहाँले जानकारी दिनुभयो । समितिले संसदीय सुनुवाई समितिको कार्यविधि, २०८३ को दफा १६ बमोजिम कार्कीविरुद्ध प्राप्त उजुरी खोल्ने प्रश्ताव अनुमोदन गर्दै उजुरी सदस्यहरूलाई वितरण गरेको छ । सभापति श्रेष्ठकाअनुसार पाल्पाको तानसेन–९ निवासी भेषराज भुइँटेलले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन नगर्न, सिफारिस अस्वीकृत गर्न तथा विस्तृत छानबिन गर्न माग गर्दै उजुरी दर्ता गराउनुभएको हो ।

उजुरीकर्ताले आफ्नो परिचय गोप्य नराख्न आग्रह नगरेको सभापति श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी, ललितपुरका उज्वलकृष्ण श्रेष्ठले सुनुवाई प्रक्रियामा बहुमत–अल्पमतको सट्टा गोलाप्रथाबाट निर्णय गर्न सुझाव दिएको उहाँले बताउनु भयो । प्रश्तावित पदका लागि आवश्यक संख्याअनुसार मात्रै नाम सिफारिस भएकाले गोलाप्रथाको प्रश्ताव सान्दर्भिक नभएको उहाँले बताउनु भयो ।समितिले प्राप्त उजुरीमाथि छलफल, आवश्यक परे उजुरीकर्तालाई उपस्थित गराउने, प्रस्तावित व्यक्तिहरूसँग छलफल गर्ने तथा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका तीनै प्रश्तावित व्यक्तिको सुनुवाईका लागि साउन १२ र १३ गतेको समय निर्धारण गरेको छ । सभापति श्रेष्ठकाअनुसार साउन १२ गते दुई जना आयुक्त र १३ गते प्रमुख आयुक्तको सुनुवाई गर्ने कार्यतालिका तय गरिएको छ । असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले आयोगको प्रमुख आयुक्तमा कार्की र आयुक्तहरुमा वाग्ले र सुब्बाको नाम सुनुवाईको लागि प्रश्ताव गरेको थियो ।

Leave a Reply