युवाको भविष्य नेपालमै सुनिश्चित गर्ने चुनौती,वैदेशिक पलायन रोक्न सरकारको परीक्षा | ईमाउण्टेन समाचार

Our Network

साउन २६ २०८३, बुधवार

युवाको भविष्य नेपालमै सुनिश्चित गर्ने चुनौती,वैदेशिक पलायन रोक्न सरकारको परीक्षा

कविना बलामी,काठमाडौँ । विदेश पलायन अहिले नेपाली युवाको व्यक्तिगत रोजाइमा मात्र सीमित छैन, यो राज्यप्रतिको विश्वास कमजोर हुँदै गएको संकेतसमेत बन्न थालेको छ। अध्ययन, रोजगारी र राम्रो भविष्यको खोजीमा दैनिक हजारौँ युवा विदेशिने क्रम बढिरहेका बेला सरकारले युवालाई स्वदेशमै अवसर र सम्भावना देखाउनुपर्ने चुनौती थपिएको छ। भ्रष्टाचार नियन्त्रण, सुशासन र सार्वजनिक सेवा सुधारमा सक्रियता देखाइरहेको बालेन नेतृत्वको सरकारले अब युवालाई केन्द्रमा राखेर दीर्घकालीन नीति निर्माण गर्नुपर्ने देखिएको छ ।

सडक, पुल, भवन र डिजिटल प्रणालीको विकासजत्तिकै महत्वपूर्ण प्रश्न अहिले देशका युवाको भविष्य बनेको छ। देशमा युवा किन बस्न चाहँदैनन् ? यो प्रश्न अहिले केवल परिवार वा व्यक्तिको समस्या रहेन, राज्यको नीति र नेतृत्वसँग जोडिएको राष्ट्रिय प्रश्न बनेको छ। एउटा सरकारले सुरु गरेको अभियान अर्को सरकारले निरन्तरता नदिने, नीति बारम्बार परिवर्तन हुने र राजनीतिक अस्थिरताका कारण त्यसको प्रत्यक्ष असर युवा र विकासमा परेको छ ।हरेक दिन ठूलो संख्यामा नेपाली युवा विदेश जाने तयारीमा छन्। कोही उच्च शिक्षाका लागि विदेशिन्छन्, कोही रोजगारीको खोजीमा। कतिपय भने नेपालमा आफ्नो भविष्य सुरक्षित नदेखेरै विदेश जाने निर्णयमा पुग्छन्। पढाइ पूरा गरेपछि अब कुन देश जाने भन्ने सोच धेरै युवाका लागि सामान्य बन्दै गएको छ।यसले एउटा गम्भीर प्रश्न जन्माएको छ—नेपालले आफ्नै सबैभन्दा ऊर्जाशील, शिक्षित र सिर्जनशील पुस्तालाई देशमै रोक्न किन सकिरहेको छैन ?वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन, डिजिटल सेवा, सार्वजनिक स्थान व्यवस्थापन, अनधिकृत संरचनामाथिको कारबाही तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका प्रयास अघि बढाएको देखिन्छ। यस्ता प्रयासले नागरिकमा केही आशा पनि जगाएको छ। परम्परागत भाषणभन्दा काममार्फत परिणाम देखाउने नेतृत्वप्रति युवाको आकर्षण बढेको त छ ।

युवाको सबैभन्दा ठूलो समस्या अहिले रोजगारी, अवसर र भविष्यको सुनिश्चिततासँग जोडिएको छ । देशभित्रै केही गर्न चाहने युवा पनि नीति र प्रक्रियाको जटिलतामा अल्झिने गरेका छन्। नयाँ व्यवसाय सुरु गर्न चाहनेलाई प्रक्रिया कठिन लाग्छ। नयाँ सोच र सिर्जनशीलता भएका युवाले प्रणालीसँग संघर्ष गर्नुपर्छ। परिणामतः उनीहरूका लागि विदेशको विकल्प झनै आकर्षक बन्न पुग्छ।नेपालको जनसांख्यिक संरचनामा युवा ठूलो शक्ति हुन्। तर यही पुस्ता ठूलो संख्यामा विदेशिएमा त्यसको प्रत्यक्ष असर नेपालको उत्पादन, उद्यमशीलता र दीर्घकालीन विकासमा परेको छ ।सरकारले युवाका लागि रोजगारी सिर्जना गर्न निजी क्षेत्रसँग सहकार्य बढाउनुपर्ने देखिन्छ। विश्वविद्यालयको शिक्षा र श्रम बजारको आवश्यकताबीचको दूरी घटाउनुपर्ने पनि उत्तिकै महत्वपूर्ण छ। युवाले आफ्नो योग्यता, मेहनत र सिर्जनशीलताका आधारमा अगाडि बढ्न सकिन्छ भन्ने विश्वास गर्न सके मात्रै राज्यप्रतिको भरोसा बलियो हुन्छ।

अहिलेको नेतृत्वले युवामा आशा जगाउने केही प्रयास गरेको भए पनि त्यसलाई दीर्घकालीन नीतिमा रूपान्तरण गर्नुपर्ने चुनौती बाँकी छ। किनकि आज विदेश जाने युवा केवल एउटा श्रमिक होइन। ऊ देशको सम्भावित उद्यमी हुन सक्छ , शिक्षक हुन सक्छ ,कुनै कलाकार हुन सक्छ वा भविष्यको नेतृत्वकर्ता हुन सक्छ । उसको पलायनसँगै देशले एउटा सम्भावना गुमाइरहेको हुन्छ।त्यसैले बालेन नेतृत्वसहित अहिलेको राजनीतिक नेतृत्वको सबैभन्दा ठूलो परीक्षा युवाको विश्वास जित्नु हो। नेपालको भविष्य आजका युवाको निर्णयसँग जोडिएको छ। यदि देशकै सबैभन्दा शिक्षित, ऊर्जाशील र सिर्जनशील पुस्ताले आफ्नो भविष्य नेपालमा देख्न छाड्यो भने सडक, पुल र डिजिटल पूर्वाधार मात्रै बनाएर विकास दिगो बन्न सक्दैन। त्यसैले अहिलेको नेतृत्वको प्राथमिकता युवालाई विदेश जानबाट रोक्नेभन्दा पनि नेपालमै बस्न चाहने वातावरण निर्माण गर्ने हुनुपर्छ। बालेन नेतृत्वले देखाएको सक्रियतालाई अब रोजगारी, उद्यमशीलता, शिक्षा, सीप र अवसरको दीर्घकालीन नीतिसँग जोड्न सके मात्रै युवाको विश्वास फर्काउन सकिन्छ। युवाको भरोसा जित्न सकियो भने मात्रै देशको भविष्य बलियो बनाउन सकिन्छ।

Leave a Reply

ताजा समाचार