देशको भविष्य बोकेका युवाहरू आज अवसरको खोजीमा विदेशिन बाध्य छन् । राजनीतिक अस्थिरता, कमजोर अर्थतन्त्र र रोजगारीको अभावले युवा पलायन झनै तीव्र बन्दै गएको छ । देशमै सम्भावना हुँदाहुँदै पनि अवसर सिर्जना गर्न नसक्नु राज्यको गम्भीर चुनौती बनेको छ ।
-माेहनप्रसाद मैनाली
नेपाल आज गम्भीर युवा पलायनको समस्यासँग जुधिरहेको छ । पढेलेखेका, ऊर्जाशील र सिर्जनशील युवाहरू आफ्नो भविष्य सुरक्षित बनाउन विदेशिने क्रम बढेको छ । वैदेशिक रोजगारीले तत्कालीन आर्थिक राहत दिएको देखिए पनि दीर्घकालमा यसले देशको उत्पादनशील शक्ति कमजोर बनाएको छ । गाउँहरू युवाविहीन बन्दै गएका छन्, कृषि, उद्योग र नवप्रवर्तनका क्षेत्रहरू जनशक्ति अभावले थला परिरहेका छन् ।
राजनीतिक अस्थिरता युवा पलायनको प्रमुख कारणहरूमध्ये एक हो । सरकारहरू छिटो–छिटो फेरिनु, दीर्घकालीन नीति नहुनु र सत्ता स्वार्थमा केन्द्रित राजनीति युवामा निराशा पैदा गर्ने मुख्य कारक बनेका छन् । चुनावी घोषणापत्रमा रोजगारी सिर्जनाका ठूला वाचा गरिए पनि कार्यान्वयन कमजोर रहँदा युवाले राज्यप्रति विश्वास गुमाएका छन् । योग्यताभन्दा पहुँच र दलगत निष्ठालाई प्राथमिकता दिने राजनीतिक संस्कृतिले युवालाई देशमै संघर्ष गर्नुको साटो विदेश जान बाध्य बनाएको छ ।
आर्थिक संरचनाको कमजोरी पनि युवा पलायनको अर्को गहिरो कारण हो । उद्योगधन्दा सीमित छन्, भएका पनि स्थायित्व र विस्तारमा समस्या भोगिरहेका छन् । निजी क्षेत्र जोखिम लिन डराउँछ भने राज्यले उद्यममैत्री वातावरण सिर्जना गर्न सकेको छैन । कृषि, पर्यटन, सूचना प्रविधि र साना उद्योगमा ठूलो सम्भावना हुँदाहुँदै पनि प्रष्ट नीति, लगानी र प्रविधिको अभावले ती क्षेत्र आकर्षक बन्न सकेका छैनन् । फलस्वरूप युवाले देशमा भविष्य देख्न सकेका छैनन् ।
शिक्षा प्रणाली र श्रम बजारबीचको असन्तुलन पनि गम्भीर समस्या हो । विश्वविद्यालय र कलेजहरूले उत्पादन गर्ने जनशक्ति बजारको आवश्यकतासँग मेल खाँदैन । सैद्धान्तिक ज्ञानमा जोड दिइए पनि सीप, व्यावहारिकता र उद्यमशीलताको विकासमा ध्यान पुग्न सकेको छैन । प्रमाणपत्रधारी बेरोजगार युवाको संख्या बढ्दै जाँदा, उनीहरू विदेशमा साधारण काम गर्नसमेत तयार हुने अवस्था देखिन्छ ।
प्रशासनिक जटिलता र भ्रष्टाचारले पनि युवाको मनोबल कमजोर बनाएको छ । व्यवसाय दर्ता, ऋण प्राप्ति, अनुमति र कर प्रणाली जस्ता प्रक्रियाहरू झन्झटिला छन् । नवउद्यम श्ुरु गर्न खोज्ने युवालाई कार्यालय धाउनै जीवनको ठूलो समय खर्चिनुपर्ने अवस्था छ । पारदर्शिता र उत्तरदायित्वको अभावले गर्दा ‘यहाँ केही हुँदैन’ भन्ने मानसिकता बलियो बन्दै गएको छ, जसले युवा पलायनलाई थप मलजल गरेको छ ।
युवामाँझ फैलिएको ‘अरुको लहैलहैमा लाग्ने’ प्रवृत्तिलाई पनि नजर अन्दाज गर्न सकिँदैन । विदेश जानेलाई सफल र स्वदेशमै बस्नेलाई असफल ठान्ने सामाजिक मानसिकता विकास भएको छ । छिमेकी, साथी वा आफन्त विदेश गएपछि त्यसैलाई सफलताको मापदण्ड मान्ने चलनले युवालाई आत्मनिर्भर बन्ने प्रयासभन्दा पलायनतर्फ धकेलेको छ । सामाजिक सञ्जालमा देखाइने उच्चस्तरको विदेशी जीवनशैलीले वास्तविक कठिनाइ लुकाइदिन्छ, जसको भ्रममा युवा विदेशिने निर्णय गर्छन् ।
नाराले मात्रै युवा जनशक्ति पलायन रोक्न सकिँदैन । विश्वास, अवसर र सम्मानको वातावरण सिर्जना गर्नु नै दीर्घकालीन समाधान हो । युवाले देशमै भविष्य देख्न थाले भने मात्र राष्ट्र बलियो बन्छ, समृद्ध बन्छ । देशमै अवसर सिर्जनाको अभियानलाई राष्ट्रिय प्राथमिकताका साथ अघि बढाउनु मात्रै युवाशक्ति विदेश पलायन हुनबाट रोक्न सकिने एकमात्रै उपाय हो ।





