जुम्लाका गाउँगाउँमा महिला उद्यमी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

जुम्लाका गाउँगाउँमा महिला उद्यमी

mahila uddhemi

काठमाडौं, ६ बैशाख । जुम्लाको तिला गाउँपालिका–५ चुलाकोटकी आशा कामी ढाका बुनाइमा व्यस्त छिन् । पहिले खेतीपातीमा दैनिकी बिताउने कामी अहिले ढाकाका रुमाल, पछौरा, पटुका, गलबन्दीलगायत सामग्री बनाउन व्यस्त हुने गरेकी हुन् । उनी जस्तै तिला गाउँपालिका–३ कुडारीकी कल्पना भट्टराई पनि ढाका बुन्ने शीप सिकिरहेकी छन् ।

तिला गाउँपालिकाले विपन्न महिलालाई स्वरोजगार बनाउने र गाउँपालिकामा ढाका उद्योग सञ्चालन गर्ने उद्देश्यले गत फागुनदेखि सञ्चालन गरेको तीन महिने ढाका बुनाइ तालिममा उनीहरू सहभागी भएर सक्रिय रूपमा सीप सिकिरहेका छन् । यता तातोपानी गाउँपालिकामा पनि सिलाइ बुनाइ तालिम सञ्चालन गरिएको छ ।

तालिमबाट १० जना महिला लाभान्वित भएका छन् । पातारासी, गुठिचौर हिमा तथा सिंजा गाउँपालिकाले गाउँगाउँमा महिला उद्यमी उत्पादन गर्ने सोचका साथ सिलाइ कटाइ, ढाका बुनाइका तालिम धमाधम सञ्चालन गरिहेका छन् । जसबाट गाउँका महिला उद्यमी बन्दै आत्मनिर्भर बन्ने अपेक्षा गरिएको छ । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।

जिल्लाका अन्य गाउँपालिकामा पनि सिलाइकटाइ तालिम सञ्चालन भइरहेको छ । आठ वटै स्थानीय तहले १० जनाका दरमा तालिममा सहभागिता गराएका छन् । सबै गाउँपालिकाका गरी झन्डै ८० जना महिला उद्यमी उत्पादन गरिने गाउँपालिकाहरूको लक्ष्य छ । तर तिला गाउँपालिकामा भने ढाका बुनाइ तालिम सञ्चालन गरिएको छ । उक्त तालिममा गाउँपालिकाका १० जना महिला सहभागी छन् । तालिममा सहभागी भएकाहरूले शीप सिकेपछि आफैं उद्योग सञ्चालन गरेर गाउँमै स्वरोजगार बन्ने लक्ष्य लिएका छन् । ढाका बुनाइबाट पनि मनग्य आम्दानी गर्न सकिने प्रशिक्षक मशान्ती भण्डारीले बताइन् । दैलेखबाट जुम्ला सीप सिकाउन आएकी उनले भनिन्, “जुम्लामा यसअघि ढाका कपडा बनाउने उद्योग छैनन्, त्यसैले शीप सिकेकाहरूले सजिलै ढाका बुनाइबाट राम्रो आम्दानी गर्न सक्छन् ।”

महिलाका लागि घरमै बिहान–बेलुका फुर्सदको समयमा समेत ढाका बुनाइबाट राम्रो आम्दानीको विकल्प रहेको उनको भनाइ छ । उनका अनुसार अहिले जिल्लामा ढाकाको एउटा रुमालको मात्रै एक सय रूपैयाँभन्दा बढी पर्छ । ढाकाका अन्य जुनसुकै कपडा बुने पनि सजिलै बिक्री हुने गरेको छ । बजारमा ढाका कपडाको मागसमेत बढ्दै गएको छ ।

घरेलु तथा साना विकास उद्योग समिति जुम्ला र तिला गाउँपालिकाको समन्वयमा १५ लाख रूपैयाँको लागतमा उक्त आवासीय तालिम सुरु गरिएको हो । तालिम जेठ महिनाको दोस्रो सातासम्म सञ्चालन हुनेछ । गाउँपालिका अध्यक्ष रतननाथ योगीका अनुसार विपन्न र शीप सिक्ने जाँगर भएका महिलालाई छनोट गरी फागुन १७ गतेदेखि ढाका बुन्ने शीप सिकाउन थालिएको हो । तालिम सम्पन्न भएपछि आधिकारिकरूपमा दर्ता भएका उद्योगलाई उपकरण तथा तान खरिदका लागि एक लाख रूपैयाँसम्म अनुदान दिने व्यवस्था छ । तीन महिने तालिमपछि आयआर्जनका लागि निःशुल्क रूपमा मेसिन पनि वितरण गरिने बताइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);