गिट्टी कुटेर जिबिकोपार्जन गर्दै अछामका महिला | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

गिट्टी कुटेर जिबिकोपार्जन गर्दै अछामका महिला

gitti kutera jibikoparjan

सुशील भण्डारी

अछाम, १८ बैशाख । अछामको कमलबजार नगरपालिका कुईकाका महिलाहरु गिट्टी कुटेर आफ्ना जिबिकोपार्जन गर्दै आईरहेका छन् । उनीहरुको दैनिकी हातमा हतौडा अनि गिट्टीको डगुँरमा बित्ने गर्दछ । अछाम कमलबजार सडक खण्डको छेउमा गिट्टी कुटिरहेका महिलाहरुको लस्कर देख्न सकिन्छ ।

अछाम कमलबजार नगरपालिका–५ कुइकाका महिलाहरु गैरीटाँड, कमलबजार सडक खण्डको छेउमा गिट्टी कुटिरहेका महिलाहरुको लस्कर देख्न सकिन्छ । बिहानदेखि साँझसम्म गिट्टी कुटेर आफ्नो परिवारको बिहान बेलुकीको छाक टार्न मेहनत गरिरहेका हुन्छन् उनीहरु । बिहानदेखि साँझसम्म हातमा फोका उठ्ने गरी गिट्टी कुट्दासमेत यसबाट सोचेजस्तो आम्दानी हुन सकेको छैन । घरको आर्थिक अवस्था न्यून भएको र परिवारको घरखर्च टार्नका लागि गिट्टी कुट्नु पर्ने बाध्यता उनीहरुलाई छ ।

आफूले दुःख गरेर दिनभर कुटेको गिट्टीले गाउँमा उचित मूल्य नपाउँदा महिलाहरु दुखित छन् । घरमा आयआर्जन गर्ने अन्य कुनै स्रोत नहुँदा गिट्टी नै परिवारको मुख्य पेशा भएको छ । गिट्टी फुटाएर नै आफ्ना बालबच्चालाई अक्षर चिनाई रहेका छन् । परिवारको आर्थिक अवस्था कमजोर छ । लगाएका बालीनाली असिनाले नष्ट गर्छ । गिट्टी कुटे पनि आफ्नो परिवार धान्न गाह्रो भएको गिट्टी कुट्ने महिलाहरुको दुखेसो छ ।

आफ्नो मेहिनत अनुसारको कमाई गर्न नसकेको यी महिलाहरुको गुनासो छ । गिट्टी कुटेर ट्रलीको आधारमा बिक्री गर्दै आएका उनीहरुले प्रति गिट्टी चार हजारदेखि ३५ सय सम्ममा बिक्री हुने गरेको छ । यहाँ कुटिएका गिट्टी सुदूरपश्चिमका विभिन्न स्थानहरुमा पुग्ने गरेका छन् ।

देशमा जति राजनैतिक परिवर्तन आएपनि जति नै विकासका कुराहरु भएपनि आफुहरुको जीवनमा केही सुधार नआएको उनीहरुको भनाई छ । नेताहरु भोट माग्न आँउदा काम दिने प्रलोभन देखाउँछन् तर काम पनि विकास पनि नपाएको उनीहरुको गुनासो छ ।

कमलबजार भित्र ठूलठूला भवनका साथै भौतिक संरचनाहरु निमार्ण नभई रहेकोले गिट्टीको मुल्य निर्धारण गरिएको छैन । नगरपालिकाको आन्तरिक स्रोतलाई बृद्धि गर्नको लागि आगामी आर्थिक वर्षबाट मुल्य निर्धारण गरिने कमलबजार नगरपालिका नगर प्रमुख ओम प्रकाश बिष्टले जानकारी दिनुभयो ।

गैरीटाँड कमलबजार सडकखण्डमा यहाँका धेरैजसो दलित तथा विपन्न समुदायका महिलाले लामो समयदेखि गिट्टी कुट्दै आएका छन् । आर्थिक अवस्था कमजोर भएका दलित तथा केही गैरदलित परिवारका महिलाले गिट्टी कुटेरै परिवारको लालनपालनदेखि घरखर्च टार्दै आएका छन् ।

पछिल्लो समय गाउँमा समेत सडक सञ्जाल विस्तार हुनथालेपछि गाउँका न्यून आय भएका परिवारका महिला गिट्टी कुट्ने पेशामा आबद्ध भएका हुन् । तर यो पेशाले उनीहरुको जिबिकोपार्जनलाई सहज बनाउन भने अझै सकेको देखिंदैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);