एकल महिलालाई सन्तान हुर्काउनै सकस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एकल महिलालाई सन्तान हुर्काउनै सकस

gitti kutdai

अछाम, २८ फागुन । मंगलसैन नगरपालिका–५ की ३० वर्षीया कोकिला सुनार गिट्टी कुटेर परिवार पाल्छिन् । उनले २६ वर्षको उमेरमा पति गुमाइन् । ४ छोराछोरीको जिम्मेवारी उनकै काँधमा छ । गिट्टी नकुटेको दिन घरमा चुलो जल्दैन ।

अछामको मंगलसैनमा छोराछोरीसहित गिट्टी कुट्दै कोकिला सुनार । जेठो छोरो ८ वर्षको हुँदा उनको जीवनमा ठूलो संकट आइलाग्यो । पतिको अल्पायुमै मृत्यु भयो । त्यसपछि जीवनयापन गर्न कोकिलालाई निकै सकस भएको छ । छोराछोरीको पालनपोषण गर्न बिहानै काम खोज्न निस्कन्छिन् । ‘अरूले जे खायो, त्यही खाऊँ भन्छन्, अरूले जे लगायो, त्यही चाहियो भन्छन्,’ उनले भनिन्, ‘छोराछोरीले भनेअनुसार पुर्‍याउनुत मेरा लागि सपनाजस्तै हो । बिहानबेलुकाको गुजारा चलाउनैमुस्किल छ ।’

एकल महिलालाई समाजले फरक दृष्टिले हेर्छ । व्यवहार गर्छ । साँझ घर पुग्दा कहाँ पुगेर आइस् भनेर छिमेकीले अनेक शंका गर्ने उनले बताइन् । ‘गाउँलेलाई मेरो अवस्थाबारे थाहा हुँदाहुँदै पनि मैले काम गर्ने वातावरण पाएकी छैन । म छोराछोरी पाल्न संघर्ष गरूँ कि बाँच्नका लागि समाजसँग लडिरहूँ,’ उनले भावुक हुँदै भनिन् ।

छोराछोरी दसैंतिहार आउँदा नयाँ लुगा चाहियो भन्छन् । उनी पुर्‍याउन सक्दिनन् । कापीकलमकै जोहो गर्नगाह्रो छ उनलाई । ‘कान्छो छोरो जम्मिएको ७ दिनपछि मैले ढुंगा बोक्ने काम सुरु गरेँ । अहिलेसम्म यही काम गर्दैछु,’ उनले सुनाइन् ।

४ छोराछोरी मंगलसैनस्थित षोडसा माविमा पढ्छन् । उनले अहिलेसम्म नयाँ पोसाक किनेर छोराछोरीलाई स्कुल पठाउन सकेकी छैनन् । अरूले दिएका पुराना लुगाले गुजारा चलेको छ । ‘नयाँ पोसाक लगाएर स्कुल जाने छोराछोरीको रहर कहिल्यै पूरा हुन सकेन,’ उनले भनिन् ।

केही वर्ष अघिसम्म घर र सडक निर्माणको काम पाइन्थ्यो । अहिले त्यो काम पाइन छोडेको उनको गुनासो छ । शनिबार र स्कुल बिदाको दिन छोराछोरीले पनि गिट्टी कुट्न सघाउँछन् । गिट्टी बिक्रीको पनि टुंगो हुँदैन । पतिको उपचारमा खर्च भएको ३ लाख ऋण तिर्न अझै सकेकी छैनन् ।

मानव अधिकार एकल महिला सञ्जालको तथ्यांकअनुसार अछाममा १० हजार एकल महिला छन् । कोकिला सुनार एक प्रतिनिधि पात्र मात्रै हुन् । सञ्जाल आबद्ध सबै महिलाका समस्या उस्तै भएको सञ्जाल अध्यक्ष कोकिला बिकले बताइन् ।

‘मेरो उमेर २२ वर्षको हुँदा श्रीमान्को मृत्यु भयो । ४ छोराछोरीलाई दुख गरेर पाल्दै छु,’ उनले भनिन्, ‘अब छोराछोरी पनि हुर्किए । एकल महिला हुँदा धेरै दुख पाएकाले नेतृत्व नै लिएर हरेक दिदीबहिनीका समस्यासँग जुध्दै छु ।’

सरकार र स्थानीय तहले पनि एकल महिलालाई बजेट छुट्याउन कन्जुस्याइँ गरिरहेको उनको आरोप छ । ‘एकल महिला पनि बाटामा हिँड्छन्, पानी खान्छन् भन्दै सडक र खानेपानी योजनामा बजेट खर्च गर्छन्,’
उनले भनिन् ।

सरकारले एकल महिलालाई दिने मासिक एक हजार भत्ताबाहेक स्थानीय तहबाट कुनै सुविधा नपाएको अध्यक्ष बिकले बताइन् । ‘घरेलु कार्यालयसँगको सहकार्यमा गत वर्ष मंगलसैन नगरपालिकाका ५ सय एकल महिलामध्ये १८ जनालाई मात्र सीप विकासअन्तर्गत सिलाइकटाइ तालिम मात्र दिन सकेका छौं,’ उनले भनिन् । आजको कान्तिपुरमा खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);