गोपाल पोखरेल
उदयपुर, २ बैशाख । मदन भण्डारी राजमार्ग अन्तर्गत धरान–सिन्धुलीको भिमानसम्मको एक सय ३४ किलोमिटर सडक निर्माणको काम तीब्र गतिमा अघि बढेको छ । यस खण्डको चुहाडे गाईघाट असारी खण्डको १३ किलोमिटर सडक कालोपत्रे भएको छ भने चालु आर्थिक वर्षको अन्त्यसम्ममा ७५ प्रतिशत काम सकिने सडक आयोजनाले जनाएको छ ।
सरकारको प्राथमिकतामा परेको मदन भण्डारी राजमार्ग (धरान चतरा सिन्धुली हेटौँडा बैकल्पिक राजमार्ग) को निर्माणको गति तीब्र पारिएको छ । यस खण्ड अन्तरगतको चुहाडे गाईघाट क्षेत्रमा कालोपत्रे विच्छाउन थालिएको हो ।
यो सडक खण्डको विभिन्न स्थानहरुमा सडकको सव ग्रेड, सव वेस, होम पाइप, स्लाभ कल्भर्ट, मेसिनरी वाल लगायतका निर्माणका कामहरु तीब्र गतिमा भईरहेको छ । बैकल्पिक राजमार्ग अन्तर्गतका पुर्वी खण्ड उदयपुरदेखि पश्चिम खण्ड सिन्धुली सम्मको ७० किलोमिटरमा यही आर्थिक वर्ष भित्र पहिलो लेयर पीच सकाउने लक्ष्य रहेको निर्माण कम्पनीले जनाएको छ ।
राजमार्ग निर्माणपछि भित्री मधेसलाई राजधानीसँग जोड्ने सबै भन्दा छोटो राजमार्ग बन्ने छ । केही महिना अघि राजमार्ग निर्माणका क्रममा घरटहराहरुको मुआब्जा निर्धारण, वन क्षेत्रका रूख हटाउने कार्य र पुल निमार्ण हुने स्थानहरुमा भएका विवादहरुले निर्माण कार्यमा बाधा पु-याएको थियो । तर ती बाधाहरुलाई समाधान गर्न केही समय लागेको भएपनि निर्धारित समयमै सम्पन्न गर्ने गरी सडक निर्माणको काम भइरहेको सडक आयोजनाको कार्यालयले जनाएको छ ।
राष्ट्रिय गौरवको योजना मानिएको मदन भण्डारी राजमार्गको धरानदेखि सिन्धुलीको भिमानसम्म एक सय ३४ किलो मिटर सडक पर्दछ । उक्त सडककको निर्माण कार्य २०७७ असार मसान्तसम्म सम्पन्न गर्नुपर्नेछ । सात अर्व ३६ करोड ९९ लाख ८४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको यो राजमार्ग निर्माणपछि उदयपुरको वेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, उदयपुरगढी गाउँपालिका र कटारी नगरपालिका स्थानीयहरुलाई प्रत्यक्ष फाईदा पुग्ने छ भने सिन्धुलीतर्फ दुधौली नगरपालिका र कमलामाई नगरपालिका हुँदै हेटौँडासम्म पुग्ने छ ।