Our Network

कार्तिक ८ २०७८, सोमबार

लोकमार्ग सडक खण्ड निर्माणमा ढिलाई

गोपाल पोखरेल
उदयपुर, १८ असोज
। राष्ट्रिय महत्वको आयोजना मदन भण्डारी लोकमार्गमा बिद्युतीय पोल, घर र बन क्षेत्र मुख्य समस्या देखिएपछि सडक निर्माण काममा सुस्तता छाएको छ । धरान-चतरा-भिमान खण्डको सडकको दुवै तर्फ माटो कटिङ भएका स्थानमा टेवा पर्खाल दिने या नदिने बिषयमा निर्णय हुन नसक्दा सडक निर्माणको कामले गति लिन नसकेको हो ।

राष्ट्रिय महत्वको आयोजना मदन भण्डारी लोकमार्गको काममा फेरी अड्चन देखा परेको छ । धरान-चतरा-भिमान खण्डका दुबैतर्फ माटो कटिङ भएका स्थानमा टेवा पर्खाल दिने या नदिने भन्ने बिषयमा बिभागबाट निर्णय नआउँदा कालोपत्रे गर्ने अबस्थामा पुगेका यो सडकको काम अड्किएर बसेको हो । त्यसका अलवा बिद्युत पोल, सडक भित्र पर्ने घर र बन क्षेत्रका कारण पनि सडक निर्माणले गति लिन नसकेको आयोजनाका म्यानेजर निर्माण पोखरेलले बताए ।

कटारी नगरपालिका क्षेत्रको नामवली र गहिया क्षेत्रको करीब डेढ किलोमिटर सडक खण्डको डिजाइन परिवर्तन गरिएकाले त्यस क्षेत्रका बिद्युत पोल, घर र बन क्षेत्र समस्या बनेका छन् । सिन्धुली खण्डको सडकमा पर्ने बिद्युत पोल सार्न गत साल नै ठेक्का लगाइए पनि हाल सम्म पोल सारिएको छैन ।

धरान-चतरा-हेटौडा पूर्वी खण्डको १ सय ३४ किलोमिटर मध्ये करीब ३५ किलोमिटरमा कालोपत्रे गर्ने तयारी गरिएपनि टेवा पर्खाल दिनुपर्र्ने अबस्था छ । सडकको दुबैतर्फ ठूलाठूला कटिङ भएकाले टेवा पर्खाल नदिई कालोपत्रे गर्दा सडक दीगो नहुने आयोजनाले जनाएको छ । सरकारले मदन–भण्डारी लोकमार्ग नामाकरण गरेको धरान-चतरा-हेटौडा सडक योजना दुई खण्डमा विभाजन गरेर निर्माणको लागि ठेक्का लगाइएको छ । धरानदेखि सिन्धुलीको भिमानसम्म पूर्वी खण्डमा पर्दछ ।

पूर्वी खण्डमा ४३ वटा पुल सहित १ सय ३४ किलोमिटर सडक निर्माण कार्य करिव दुई बर्षयता भईरहेको छ । विभिन्न खोलामा निर्माण हुने पक्की पुल बाहेक ६ अर्ब रुपैयाँको लागतमा ३ बर्ष भित्र सम्पन्न गर्ने गरी सडक निर्माणको काम भइरहेको सडक आयोजनाले जनाएको छ । यस खण्डमा पर्ने ४३ ओटा पुल निर्माणको ठेक्का भने कोभेक-रसुवा-टुन्दि जेभी कन्ट्रक्सनले लिएर काम गरिरहेको छ ।

सवारी साधनका लागि ७ मिटर र दायाँ बायाँ सोल्जर क्षेत्र २-२ मिटर गरी ११ मिटर सडक कालोपत्रे हुने यो सडक २०७६ साल सम्ममा निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरेको छ ।