दैनिक आधा किलोमिटर कालोपत्रे हुँदै हुलाकी राजमार्ग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

दैनिक आधा किलोमिटर कालोपत्रे हुँदै हुलाकी राजमार्ग

कपिलवस्तु । गौरवको योजना हुलाकी राजमार्गअन्तर्गत कपिलवस्तुको पहिलो खण्डमा कालोपत्रेको काम सुरु भएको छ । महाराजगन्ज नगरपालिकाको राजपुरदेखि कपिलवस्तु सदरमुकाम तौलिहवाको जमुवार पुल सम्मको १५ किलोमिटर सडकखण्डमा कालोपत्रेको काम एक साता अगाडि देखि सुरु भएको छ ।

कुल तीन खण्डमध्ये शर्मा एन्ड कम्पनीको निर्माण गरेको खण्ड अन्तिम चरणमा पुगेको छ । हरेक दिन एउटा लेनतर्फको ५०० मिटरको दरले कालोपत्रे भएको हुलाकी राजमार्ग सडक आयोजना कार्यालय गोरुसिङ्गेका प्रमुख विष्णु बाबु पाण्डेले बताए । 

चैत्र मसान्तसम्म पहिलो खण्ड निर्माण कार्य सक्ने गरी काम भइरहेको छ । हुलाकी राजमार्ग बजार क्षेत्रमा चार लेन र अन्य क्षेत्रमा डेडिकेटेड दुई लेनको निर्माण हुनेछ । शर्मा एन्ड कम्पनीका प्रबन्धक इन्जिनियर नवीन शर्माले तौलिहवा बजारमा खानेपानीको पाइप राख्ने काम र महाराजगन्जको बरगदीमा स्थानीयको विवादले समस्या भएको बताउँदै अवरोध हटेको खण्डमा निर्धारित समयमा काम सक्ने दाबी गरे ।

कुल योजनाको आधा काम सम्पन्न 

कपिलवस्तुमा हुलाकी राजमार्गका करिब आधा काम सम्पन्न भएको छ । जिल्लामा हुलाकी राजमार्ग अन्तर्गत ७४ किलोमिटर सडक निर्माणको चरणमा रहेको छ । कुल दुई अर्ब ६२ करोडमा टेन्डर स्वीकृत भई  मंसिर २०७६ बाट काम सुरु भएको थियो ।

राजमार्गमा पर्ने चार पुलमध्ये सोइया खोलाको पुलको काम सम्पन्न भएको छ । कञ्चनियाँ, चिराई र सुराई खोलामा पुलको काम ५० प्रतिशत काम सम्पन्न भएको छ । कुल १८० कल्भर्टमध्ये १५० भन्दा बढी निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ ।

दुई खण्डको निर्माण सुस्त गतिमा 

पहिलो खण्ड अन्तिम चरणमा पुग्दा बाँकी दुई खण्डको निर्माण कार्य सुस्त गतिमा रहेको छ । राजमार्गअन्तर्गत राजपुर-दत्तपुर र दत्तपुर-तुरन्तपुर खण्डमा कल्भर्ट निर्माण र सब बेस तथा बेस हाल्ने काम भइरहेको छ । केही ठाउँमा बल्ल कल्भर्ट निमार्णको काम सुरु भएको छ । यसैगरी महेन्द्र राजमार्ग र हुलाकी जोड्ने दुई सडकको काम सञ्चालनमा रहेका छन् ।

जितपुर–तौलिहवा सर्भिस लेन अन्तर्गत पक्की नाली निर्माणको काम सम्पन्न भई सब बेस राख्ने काम सञ्चालनमा आएको छ । सो खण्ड चैत्र मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ । यसै गरी खरेन्द्रपुर-भिल्मी खण्डमा टेवा पर्खाल निर्माण र कल्भर्ट निर्माण हुँदै गरेको हुलाकी राजमार्ग सडक आयोजना कार्यालयका इन्जिनियर शरद आचार्यले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);