गण्डकीको लाइफलाइन डेढगाउँ-झ्यालवास सडक निर्माण सुरु, ८ कराेड बजेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

गण्डकीको लाइफलाइन डेढगाउँ-झ्यालवास सडक निर्माण सुरु, ८ कराेड बजेट

पोखरा । गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको कोरला-सुस्ता सडक खण्ड अन्तर्गत डेढगाउँ-झ्यालबास सडक खण्डको निर्माणकाे काम सुरु भएको छ ।

नवलपुर जिल्लामा पर्ने उक्त खण्डको मंगलबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शिलान्यास गरे । १४ किलोमिटर लामो सडक निर्माण भएपछि तनहुँको भीमाददेखि नवलपुरसम्म छिचोल्नेछ । भीमाद–त्रिवेणीको ९४ किलोमिटर सडकमध्ये दुम्कीबासबाट त्रिवेणीसम्मको १५ किलोमिटर भने अहिलेसम्म ट्रयाक पनि खुलेको छैन ।

शिलान्यास भएको सडक २ लेनमा विस्तार हुनेछ । कालोपत्रे सहितको चौडाई १० मिटर हुने पूर्वाधार कार्यालय नवलपुरका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए । यसको कुल लागत ५१ करोड अनुमान छ । ३० महिनामा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भैसकेको उनले बताए ।

प्रदेश सरकारले कार्यान्वयन गर्ने उक्त आयोजनाका लागि चालू वर्षमा  ८ करोड विनियोजन भएको भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काले जानकारी दिए । ‘यो बहुवर्षीय योजना हो । पुरै पैसा प्रदेश सरकारले लगानी गरेको छ । खर्च गर्न सके अझै बजेट थप्ने छौं,’ उनले भने, ‘प्रदेशको मेगा प्रोजेक्टको रुपमा यो बाटोलाई लिएका छौं । जसरी पनि पूरा गर्नुपर्छ भन्नेमा हामी दृढ छौं ।’ यो सडक निर्माण सकिएपछि तनहुँको मानपुर जोडिने छ । मानपुरदेखि भीमादसम्मको खण्डमा पनि काम अघि बढिसकेको छ । ट्रयाक खुल्न बाँकी रहेको त्रिवेणी क्षेत्रलाई संघ सरकारले डीपीआर बनाउन स्वीकृति दिएको छ ।

‘त्रिवेणीमा वनले रोकेको थियो । हामी नै गएर त्यो फुकाएर आयौं । डीपीआर बन्ने क्रममा अघि बढिसक्यो,’ खड्काले भने । सडक शिलान्यासपछि मुख्यमन्त्री पोखरेलले लामो समयको अन्योल चिरेर विकासले गति लिएको बताए । ‘भीमादबाट नवलपुरको मुख्य राजमार्ग जोड्न कुन बाटो बनाउने भन्ने अन्योल थियो । हामीले डेढगाउँ–झ्यालवास रोजेर बजेट छुट्यायौं,’ उनी भन्छन्, ‘अब त शिलान्यास नै भएको छ । काम तीब्र गतिमा हुन्छ ।’ उनले नवलपुरको पहाडी भेगको विकासका लागि प्रदेश सरकारले विशेष प्याकेज बनाउने बताएका छन् ।

एउटा बाटो शिलान्यास गर्न ४ मन्त्री

डेढगाउँ–झ्यालबास सडक शिलान्यासका लागि प्रदेशका चार जना मन्त्री पुगेका छन् । मुख्यमन्त्री र भौतिक पूर्वाधार विकासमन्त्रीसहित पर्यटनमन्त्री मणिभद्र शर्मा र आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले संयुक्त रुपमा बाटोको शिलान्यास गरेका हुन् । लाइफलाइन अन्तर्गत कोरलादेखि पोखरासम्म सडक सञ्चालनमा आईसकेको छ । पोखराबाट भीमादसम्म पनि कुनै समस्या छैन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);