काठमाडौं, २७ चैत । करिब एक महिनामा सगरमाथाको उचाइ नापेर फर्कने योजनासहित नेपाली प्राविधिक टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । सरकारी निवास बालुवाटारबाट बुधबार विहान प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामनासहित टोलीलाई विदाइ गरेका छन् ।
नेपाल सरकारको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ मापन हुँन लागेको भन्दै प्रधानमन्त्री ओलीले सेन्टीमिटर सहितको उचाइ लिएर फर्कन टोलीलाई सुझाव दिएका छन् । अव यही टोलीले ल्याएको नाप नै सगरमाथाको आधिकारिक उचाइ मानिने छ ।
चिनीयाँ र भारतीय प्लेटको रगडाइबाट भूकम्पपछि त्यसको उचाई घटेको भन्ने हल्ला पनि चलेको छ । तर, प्रधानमन्त्री ओलीले विज्ञका नाममा भएका त्यस्ता हल्ला निराधार भएको दावी गरेका छन् ।
विश्वकै अग्लो सगरमाथाको उचाई नेपालमा भएर पनि विदेशी संघसंस्थाको नामलाई आधार मानेर ८ हजार ८ सय ४८ मिटर उचाई आधिकारिक दावी गरिदै आएको थियो । विश्वभरका मानिसहरुले विश्वकै सर्बोच्च शिखर भनेर हेर्न आउने नेपालको सम्पत्तिबारे आधिकारिक सूचना अरुबाट लिनुपर्ने विडम्बना हामीसामु छ ।
त्यसैले पनि सरकारी स्तरबाटै त्यसको आधिकारिक नाप ल्याउन टोली खटाइएको हो । तर, सरकारी टोलीबाट तथ्यपरक सूचना नआएमा त्यसले थप भ्रम पैदा गर्न सक्छ । त्यसैले पनि उचाई मापनका लागि तत्परता लिएको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सचेत हुन टोलीको ध्यानाकर्षण गरेको छ ।
सगरमाथाको उचाई मापन गर्ने सरकारी टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम संयोजक छन् भने नापी अधिकृत रविन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल सदस्य रहेका छन् ।
गाईड टोलीमा छिरिङ जाङबु शेर्पा र पेमाङिमा शेर्पा रहेका छन् । उचाइ नाप्न जानु अघि टोलीका सबैले सगरमाथाको आरोहणका लागि आवश्यक तालिम समेत लिइसकेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई पहिलो पटक सन् १८४९ मा भारतकातर्फबाट भएको थियो ।
त्यसपछि सन् १९५४ र सन् २००५ मा सगरमाथाको उचाई मापन गरिए पनि नेपालले भने पहिलो पटक त्यसको उचाई मापनका लागि सरकारी टोलीलाई पठाएको हो ।
वि.सं.२०७२ सालमा गएको विनाशकारी भूकम्पले सगरमाथाको उचाई घटाएको भन्दै भूगर्भविदसहितले विभिन्न अडकलबाजी सार्वजनिक गरिरहेका थिए । ती सबै विषयमा टोलीले अव आधिकारिकत सूचना ल्याउने छ । आधिकारिक सूचना आउँदा विगतका अध्ययन भन्दा फरक परेमा सगरमाथाको उचाइका विषयमा नयाँ तथ्य अध्ययनको सामग्री बन्ने छन् ।