काठमाडौं, २७ चैत । सरकारले ‘नेपाल जीवनस्तर सर्वेक्षण’को काम सुरु गरेको जनाएको छ । केन्द्रिय तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले नेपाल जीवनस्तर सर्वेक्षणको काम सुरु गरिएको जानकारी दिएका छन् ।
बुधबार संसदको अर्थ समितिको बैठकमा उनले गरिवी निवारण गर्ने सरकारको लक्ष्यलाई सघाउ पुर्याउन विभागले जनताको जीवन स्तरको पनि सर्वेक्षण गर्ने कामलाई अघि बढाएको बताए । त्यसैगरी विभागले सामाजिक गतिविधि तथा महिला, दलित, जनजातिलगायतका समूदायहरुको पनि तथ्यांक संकलनको काम सुरु गरिएको जनाएको छ ।
विभागले राष्ट्रिय योजना आयोगको सहयोगमा नेशनल डेटा प्रोफाईल बनाउने कामलाई पनि अन्तिम चरणमा पुर्याएको छ । राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर रामकुमार फुयाँलले मुलुकको समग्र डाटालाई संकलन गरेर इन्टरनेटमार्फत् जानकारी गराउने उद्देश्यका साथ सो डेटा प्रोफाईल बनाउने काम भईरहेको पनि समितिलाई जानकारी गराए ।
केन्द्रिय तथ्यांक विभागले नेपालमा पहिलो पटक आर्थिक गणनाको काम पनि सुरु गरेको छ । रोजगारीको अवसर सृजना गर्न आवश्यक तथ्यांकको लागि आर्थिक गणनाको कामलाई पनि सुरु गरिएको विभागले जनाएको छ ।