गौतमबुद्ध रंगशाला निर्माणको सहयोगार्थ शनिवार मातृभूमि कप क्रिकेट | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

गौतमबुद्ध रंगशाला निर्माणको सहयोगार्थ शनिवार मातृभूमि कप क्रिकेट

काठमाडौं, २२ चैत । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको सहयोगार्थ शनिवार मातृभूमि कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ।

प्रतियोगितामा कलाकारहरुको दुई टोली र राष्ट्रिय क्रिकेटरको दुई टोलीले प्रतिस्पर्धा गर्नेछन । प्रतियोगिताका लागि कहिल्यै ब्याट र बल नसमाएका कलाकारहरु प्रतियोगिताका लागि केही दिनदेखि अभ्यासमा जुटेका छन् ।

प्रतियोगितामा सहभागी बन्ने कलाकारहरुलाई राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले प्रशिक्षण दिएका छन् । क्रिकेटर र कलाकारहरुलाई ‘ए’ र ‘बी टोलीमा विभाजन गरेर क्रिकेट खेलाइने फाउन्डेशनले जनाएको छ ।

क्रिकेटरको ‘ए’ टिमको नेतृत्व कप्तान पारस खड्काले र ‘बी’ टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन् । यस्तै कलाकारको ‘ए’ टिमको नेतृत्व मदनकृष्ण श्रेष्ठले र ‘बी’ टिमको नेतृत्व हरिवंश आचार्यले गर्नेछन् ।

क्रिकेट खेलका लागि टिकटदर १ हजार र तीन सय रुपैयाँ तोकिएको छ । त्यसबाहेक रंगशाला निर्माणको सहयोगार्थ स्वेच्छाले थप रकम दिन पनि सकिने फाउन्डेशनले जनाएको छ । खेल कीर्तिपुर स्थित त्रिभुवन बिश्वबिद्यालयको क्रिकेट मैदानमा हुनेछ ।