काठमाडौं, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धि हासिल गर्नका लागि आन्तरिक र बाह्य दुवै प्रकारको स्रोत परिचालन गर्नु पर्ने बताएका छन् । नेपाल आठौं अन्तर्राष्ट्रिय व्यापार मेला –२०७५लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सरकार राष्ट्र निर्माणको महाअभियानमा रहेको बताए । ‘सरकार राष्ट्रिय आकांक्षा पुरा गर्न बहुआयामिक विकासमा लाग्दछ’ प्रधानमन्त्री ओलीले भने ‘यसका लागि आन्तरिक र बाह्य दुवै प्रकारका स्रोतको परिचालन गरिनेछ ।’
प्रधानमन्त्री ओलीले स्वदेशी लगानीलाई प्रोत्साहित गर्दै विदेशी लगानीलाई समेत आकर्षित गरिने स्पष्ट पारे । ‘सरकारले आयोजना गरेको लगानी सम्मेलनको पूर्व सन्ध्यामा म भन्न चाहन्छु हामी स्वदेशी उद्यमी र लगानीकर्तालाई उच्च प्राथमिकतामा राख्छौं । विदेशी लगानीकर्तालाई नेपालमा स्वागत गर्न ऐन कानुन सजिलो बनाउछौं’ प्रधानमन्त्री ओलीले भने ‘लगानी प्रवर्द्धन गर्न सरकारको तर्फबाट कुन कुन ऐन कानुन संसोधन गर्नुपर्दछ तपाईंहरुको सुझाव आओस । सरकारले त्यस्ता कानुनहरुको संशोधन गर्दछ ।’
प्रधानमन्त्री ओलीले लगानीका लागि नेपाल सुनौलो भूमी भएको बताए । ‘विदेशी लगानीका लागि नेपाल उपयुक्त छ’ प्रधानमन्त्री ओलीले भने ‘यहाँ प्रतिष्पर्धा कम छ । त्यसैले पनि लगानी गर्न आउनेहरुलाई यहाँ सजह छ ।’
प्रधानमन्त्री ओलीले विगतमा मुलक वर्वाद पारिएको सवाइ सुनेर मात्र देश विकास नहुने बताए । ‘विगतका सवाइ सुनेर र वर्तमान अवस्था हेरेर मात्र देश विकास हुँदैन’ प्रधानमन्त्री ओलीले भने ‘देश विकासका लागि भविष्यसम्मको स्पष्ट दृष्टिकोण राखेर अघि बढ्नु पर्दछ ।’