बादल-विप्लव आमने सामने हुँदै भीडन्तकाे तयारीमा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बादल-विप्लव आमने सामने हुँदै भीडन्तकाे तयारीमा (भिडियोसहित)

काठमाडौं, १ चैत । कुनै बेलाका सहयात्री रामवहादुर थापा बादल र नेत्रविक्रम चन्द विप्लव अहिले आमने सामने भएका छन् । एक साता यताको राजनीतिक घटनाक्रमलाई नियालेर हेर्ने हो भने राजनीतिक बृत्तमा नेपाल सरकारका गृहमन्त्री रामवहादुर थापा बादल र हाल भुमिगत राजनीति गरिरहेका नेकपाका नेता नेत्रविक्रम चन्द विप्लवको सम्वन्धले चर्चा पाउन थालेको छ ।

अघिल्लो साता हठात जेलबाट रिहा गरेर सरकारले अलग देशको माग गर्ने सीके राउतसंग ११ वुँदे सम्झौता गरेपछि र यसको चार दिनपछि अर्धभुमिगत आन्दोलन गरिरहेका विप्लवको दल नेकपालाई सरकारले प्रतिवन्ध लगाएसँग नेपालको राजनीतिमा नयाँ तरंग पैदा भएको छ ।

विप्लव समुहका कनुै पनि कार्यकर्तालाई हतियारसहित देख्ने वित्तिकै गोली हान्नु भन्ने सरकारले सुरक्षाकर्मीलाई निर्देशन दिएपछि राजनीतिज्ञहरुले बादल विप्लव सम्वन्धको बारेमा बहश गर्न थालेका छन् ।

कुनै समय प्रचण्ड नेतृत्वको नेकपामा कुममा कुम जोडेरसंगै काम गरेका बादल र विप्लव यतिवेला आमने सामने भिडन्तको लागि तयार भएका छन् । नियतिले उनीहरु मध्ये एकले पार्टीलाई प्रतिवन्ध लगाउने र अर्कोलाई त्यसको प्रतिकार गर्ने ठाउँमा राखिदिएको छ ।

इतिहास कतिसम्म क्रुर भएको छ भने २०५९साल बैशाख १२ गते तत्कालिन सरकारले माओवादीका नेताहरु बाबुराम भट्टराई, अध्यक्ष प्रचण्ड र मोहन वैद्यलाई पक्राउ गर्नेलाई ५० लाख पुरस्कार र उनीहरुको बारेमा सुराकी दिनेलाई पचास प्रतिशत सुराकी खर्च दिने उर्दी नै जारी गरेको थियो ।

त्यतिवेला बादल र विप्लव एउटै दलमा थिए । तर त्यस यता आज १६ बर्षमा समय बदलियो । परिस्थिति बदलियो । पात्र बदलियो । तर प्रवृत्ति भने उहि रहेको छ ।

हिजो टाउकाको मोल तोक्ने कांग्रेस सभापति शेरवहादुर देउवा अहिले विपक्षी दलका नेता छन् । उतिवेला सशस्त्र युद्ध गर्ने प्रचण्ड र बादल अहिले सत्तामा छन । त्यसकै एक भंगालो सम्हालेका विप्लवको दललाई भने सरकारले अहिले प्रतिवन्ध लगाएको छ ।

माओवादी आन्दोलनमा युवा र क्रान्तिकारी युवाको पहिचान बनाएका नेत्रविक्रम चन्दलाई नजिकबाट चिन्नेहरु उत्साही, जागरुक र हतियारबन्द आन्दोलनको लागि ब्यग्र नेताको रुपमा चिन्दछन् । अन्य नेताको तुलनामा युवा भएकोले जोशीला चन्द भाषणवाजीमा पनि तेज छन् । एकिकृत जनक्रान्ति भन्दै उनी अहिले युद्धमा होमिएका छन् ।

यता नेकपा माओवादी केन्द्रबाट मोहन वैद्यले नेतृत्व गरेको नेकपा माओवादीमा प्रवेश गर्दा बादल र विप्लव एकै ठाउँ थिए । त्यतिवेला यी दुइ नेताकोबीचमा सैद्धान्तिक विमति थियो । एकले अर्कोलाई प्रतिस्पर्धी ठानिरहेका थिए ।

यहि बेलामा मोहन वैद्यको धारको विपरित विप्लवले तत्काल हतियार बन्द आन्दोलनको प्रस्ताव गरे भने मोहन वैद्यको दल छाड्ने बेलामा बादलले राष्ट्रिय समाजवाद भने । यहि मुद्धालाई अगाडि तेर्साएर बादलले पछि पार्टी नै छाडे र प्रचण्डको नेतृत्व हुँदै अहिले एमालेसंग मिलेर नेकपा भएका छन् ।

लामो समय बादल र विप्लवसंग रहेका र हाल मोहन वैद्यको नेकपा क्रान्तिकारी माओवादीमा रहेका सीपी गजुरेलको शब्दमा भन्ने हो भने बादल सोच र दर्शनमा अब्बल होइनन् । उनी लेख पढ् र बहश भन्दा पनि अन्य काममा रुची राख्ने खालका नेता हुन् । तर, विप्लव भने जोशिला युवा मात्र होइन अलि उग्र नेता पनि हुन । सीपीका अनुसार पछिल्लो समय बादल र विप्लवको कुरा मिल्न छाडेको थियो ।

प्रधानमन्त्री ओलीले दोस्रो पटक वार्ता गर्ने भनेर यसको लागि सोमप्रसाद पाण्डेको नेतृत्वमा बार्ता टोली गठन गरे । तर यहिबेलामा सरकारले नेकपा प्रवक्ता खडगवहादुर विश्वकर्मा प्रकाण्डलाई पक्राउ गर्यो ।

अदालतले छाड्ने र प्रहरीले समात्ने क्रम महिनौंसम्म चल्यो । मानिसहरुले वादल विप्लव सम्वन्धको बारेमा केलाउन त्यतिवेला देखि नै थालेका हुन् । अझ सीके राउत र सरकारको विचमा सम्झौता भएकै दिन प्रधानमन्त्रीले विप्लवलाई लुटेरा समुह भन्नु र यसको भोलिपल्ट गृहमन्त्री रामवहादुर थापा बादलले आपराधिक समुह भनेपछि बादल र विप्लव सम्वन्ध झन छताछुल्ल भएको छ । अहिले विप्लव समुहलाई प्रतिवन्ध नै लगाएपछि अब यी कुनै बेलाका सहयात्री अब आमनेसामने भीडन्तको तयारीमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);