काठमाडौं, २० फागुन । नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको विधेयकमा भएका व्यवस्थाका विभिन्न २१ बुँदामा राज्य व्यवस्था समितिमा दफावार छलफल सकिए पनि विधेयकले अन्तिम रुप लिन सकेको छैन ।
विधेयकमा भएका अंगीकृत नागरिकता दिने ,गैर आवासीयलाई नागरिकता दिने र गैर नेपालीले प्राप्त गरेको नागरीकताका लगायतका व्यवस्थामा सांसदहरुबीच विवाद बढेपछि यसले अन्तिम रुप लिन नसकेको हो ।
नागरिकता ऐन सम्बन्धी विधेयकका सम्बन्धमा संसदको राज्य व्यवस्था समितिमा गते असोज १९ गतेदेखि निरन्तर छलफलमा हुँदै आएको छ । पत्रकारलाई समेत प्रवेश नदिई भइरहेको छलफलले निकास भने अझै दिन सकेको छैन । विधेयकको कतिपय प्रावधानमा सत्तापक्षकै सांसदहरुले चर्काे विरोध गर्दै आएका छन् । अहिले छलफलमा रहेको मस्यौदा विधेयक जस्ताको तस्तै पास गर्ने हो भने यो राष्ट्रघाति हुने भनेर समेत सत्तापक्षकै सांसद तथा नेताहरुले विधेयकको प्रावधानको खुलेर विरोध गरिरहेका छन् ।
विरोध जसरी आए पनि समिति र सरकार भने विधेयकलाई मस्यौदामा आए जसरी नै पास गर्ने भित्री तयारीमा रहेको देखिन्छ । सत्तापक्ष कै सांसद लक्ष्मी चौेधरीका अनुसार यो विधेयकमा नमिल्ने कुरा धेरै छन् । त्यसैले विवाद बढ्दा विधेयकले अन्तिम रुप पाउन सकेको छैन ।
नागरिकता विधेयकलाई अहिले महिलाको विषयसँग जोडेर पनि निकै चर्चा र बहसमा ल्याइएको छ । लैंगिक समानताको आधारमा आमाको नामबाट पनि उसका सन्तानले सजिलै नागरिकता पाउने व्यवस्थाका लागि अधिकारकर्मीहरु लागीरहेका छन् ।
जो जसरी लागे पनि बाबुको पहिचान बिना बंसजको आधारमा नागरिकता दिइने प्रावधानप्रति धेरै सांसदहरुले आपत्ती जनाइरहेका छन् । विपक्षी सांसदको मात्र कुरा होइन, सत्तापक्षकै सांसदहरु पनि यो प्रावधान संशोधन हुनुपर्ने पक्षमा छन् । अधिकारको कुरा गर्दा राष्ट्रियता बिर्सन नहुने सांसदहरु बताउँछन् ।
संसदको राज्य व्यवस्था समितिमा विचाराधिन विधेयकमा नागरिकता प्राप्तीका आधार माथि दफाबार छलफल सकिसकेको छ । यसअघि गैर नेपालीले लिएको नागरिकता के गर्ने ? नेपाली पुरुषले विदेशी महिलासँग विवाहगरे उसले कति समयपछि अंगीकृत नागरिकता पाउने ? अहिले चर्काे बहसको विषय बनिरहेको छ ।
जन्मको आधारमा दिने नागरिकता,पहिचान सहितको प्रादेसीक नागरिकता, गैर आवसीय नेपालीले प्राप्त गर्ने नागरिकता, परिवारको दायित्व र बाबुको पहिचान विना नै आमाको नामबाट सन्तानले नागरिकता पाउने व्यवस्थाको विषयमा पनि अझै समितिले टुंगो लगाउन सकेको छैन ।




