काठमाडौं, १५ फागुन । नेपालमा जन्मको आधारमा अंगीकृत नागरिकता लिनेहरुको संख्या १ लाख ९० हजार ७ सय २६ जना पुगेको छ । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल नागरिक ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै गृह सचिव प्रेमकुमार राईले सो जानकारी दिएका हुन् । उनले जन्मको आधारमा अंगीकृत नागरिक लिने व्यवस्था संविधान जारी हुनुअघि मात्रै रहेको उल्लेख गरे ।
बैठकमा समितिका सदस्यहरुले जन्मको आधारमा अंगिकृत नागरिकता दिन नमिल्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका थिए । समितिका सदस्य प्रेम सुवालले जन्मको आधारमा अब अंगीकृत नागरिकता दिन संविधान अनुसार नै नमिल्ने भएकाले सरकारले सोही अनुसारको कानुन बनाउनुपर्ने माग गरे ।
सुवालले अंगीकृत नागरिकताको सट्टा राष्ट्रिय परिचय पत्रको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए । समितिका सदस्यहरुले राष्ट्रिय परिचय पत्र जारी गर्दा मुलुकको राष्ट्रिय सुरक्षालाई विशेष ध्यान दिन पनि सरकारलाई सचेत गराएका थिए ।




