एमबीबीएसमा तोकिएभन्दा बढी विद्यार्थी भर्ना गरेको खुलासा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमबीबीएसमा तोकिएभन्दा बढी विद्यार्थी भर्ना गरेको खुलासा

doctor

काठमाडौं, १४ फागुन । काठमाडौं विश्वविद्यालय (केयु) बाट सम्बन्धनप्राप्त मेडिकल कलेजहरूले तोकिएको सिटभन्दा एक–एकजना बढी विद्यार्थी भर्ना गरेको तथ्य फेला परेको छ। नेपाल मेडिकल काउन्सिलका सदस्य डा. अंकुर साहले कुनै मेडिकल कलेजले काउन्सिलले निर्धारण गरेको सिटभन्दा अतिरिक्त विद्यार्थी भर्ना गर्न नपाउने बताए। उनले काउन्सिलले निर्धारण गरेको सिटबाहेक भर्ना गरिएका विद्यार्थीलाई मान्यता दिन नसकिने स्पष्ट पारे।

नागरिकलाई प्राप्त विवरणअनुसार केयुबाट सम्बन्धनप्राप्त निजी मेडिकल कलेजहरूले नेपाल मेडिकल काउन्सिलद्वारा चालू शैक्षिक सत्रका लागि निर्धारित एक सय सिटमा एक–एकजना विद्यार्थी भर्ना गरेको पुष्टि हुन्छ। विश्वविद्यालय र मेडिकल कलेजको मिलेमतोमा एमबिबिएसमा अनधिकृत रूपमा विद्यार्थी भर्ना गरिएको मेडिकल काउन्सिल उच्च स्रोतको भनाइ छ।

डा. साहका अनुसार गत वर्ष पनि कलेजहरूले तोकिएभन्दा एक–एकजना बढी विद्यार्थी भर्ना लिएका थिए। यस वर्ष पनि त्यही प्रवृत्ति दोहोरिएको उनको भनाइ छ। मेडिकल कलेजहरूले मौखिक रूपमा गत वर्ष र यो वर्ष काउन्सिलले निर्धारण गरेको सिट संख्याभन्दा बढी एक जनालाई पूर्ण छात्रावृत्तिमा पढाउने भन्दै काउन्सिलमा अनुरोध गरेका थिए। काउन्सिलले उनीहरूको मौखिक प्रस्तावलाई अस्वीकार गरेको थियो। तर मेडिकल कलेजहरूले काउन्सिललाई अटेर गर्दै अनधिकृत रूपमा विद्यार्थी भर्ना गरेको हुन्।

‘केही दिनपछि लिखित रूपमै प्रस्ताव पठाएर काउन्सिलले निर्धारण गरेको सिट संख्याभन्दा बढी एक विद्यार्थीलाई भर्ना गरेर ५० प्रतिशत छात्रावृत्ति दिन्छौं भनेर लिखित प्रस्ताव आएको थियो,’ काउन्सिलका सदस्य डा. साहले भने, ‘सो रकम कलेजलाई नदिने, सिल्भर जुबिली फन्डमा राख्ने प्रस्ताव थियो।

मन्त्रिपरिषद्ले निर्णय गरिसकेकाले नमिल्ने स्पष्ट पार्दै काउन्सिलले पूर्ण बैठकको निर्णयसहित मेडिकल कलेजहरूलाई छात्रवृत्ति दिने भए तोकिएको एक सय सिटभित्रैबाट दिनू भनेका थियौं।’ तर अहिले सूची मगाउँदा सबै मेडिकल कलेजमा काउन्सिलद्वारा तोकिएभन्दा एक–एकजना बढी विद्यार्थी भर्ना भएको देखिएको उनले जनाए। साहले यस विषयमा विश्वविद्यालयलाई पत्र काटिसकेको समेत स्पष्ट पारे।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

अघिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);