काठमाडौं, १० फागुन । सरकारले आगामी फागुन १५ गतेदेखि १५ जिल्लामा हात्तीपाइले विरुद्धको औषधी खुवाउने अभियान सञ्चालन गर्ने भएको छ ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रबार पत्रकार सम्मेलन गरी यसवारे जानकारी दिएको हो । पाँचथर, ईलाम, झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङ, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा हात्तीपाइले विरुद्धको औषधी खुवाउने महाशाखाले जानकारी दिएको छ ।
उक्त अभियान सञ्चालन गर्न सरकारले २० करोड ६० लाख ७० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । नेपालमा अहिले ३० हजार मानिस हात्तीपाइले रोगबाट प्रभावित भएको महाशाखाको तथ्यांङक छ ।
सन् २०१८ सम्ममा ४८ ओटा जिल्लाहरुमा हात्तीपाइले नियन्त्रण गर्न सफल भएका कारण ती जिल्लाहरुमा औषधी सेवन अभियान बन्द गरेको पनि महाशाखाले जनाएको छ ।




