काठमाडौं, ९ फागुन । पार्टी एकताको प्रस्ताव तयार पार्न गठित कार्यदलले सहमति जुटाउन नसके पछि नेकपाको सचिवालयले आफैं छलफल गर्ने भएको छ ।
सचिवालय र कार्यदलका सदस्यहरुबीच बिहिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमती नजुटे पछि कार्यदल बिघठन गर्ने कि म्याद थप गर्ने भन्ने बिषयमा टुँगो लाग्न सकेन । रामबहादुर थापा संयोजकत्वको कार्यदलले सहमतिको प्रस्ताव तयार गर्न नसकेपछि थप समय मागेको थियो । तर सचिवालयले म्याद थप्नेभन्दा कार्यदल नै बिघठन गर्ने प्रस्ताव गरेको जनाइएको छ ।
गत जेठमा पार्टी एकता भए पनि प्रदेश, जिल्लासहित भ्रातृ संगठनबीच एकीकरण भइसकेको छैन । कार्यदललाई एकताको प्रस्ताव तयार गर्ने, केन्द्रीय समितिहरूको कार्यविभाजन लगायत टुंगो लगाउन जिम्मा दिइएको थियो । तर, कार्यदलभित्र प्रदेशमा यसअघि सिफारिस व्यक्तिहरूको नाममै सहमति जुट्न सकेन । त्यस्तै जिल्ला तहको नेतृत्वमा पनि कसलाई कसरी लैजाने भन्ने मापदण्ड बन्न नसक्दा एकता प्रक्रिया झन् लम्बिँदै गएको छ ।