एकता घोषणा ‘चैत २३ अगाडि नै’ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

एकता घोषणा ‘चैत २३ अगाडि नै’

oli-prachanda

काठमाडौं, ११ चैत । प्रधानमन्त्री केपी ओलीले एमाले माओवादी पार्टी एकता चैत २३ भित्रै गर्ने नयाँ प्रस्ताव गरेका छन्।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग शनिबार बिहान छलफल गर्दै ओलीले आफ्नो भारत भ्रमणअगाडि नै एकता गर्न प्रस्ताव गरेका हुन्।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको त्यस्तो प्रस्तावमा माओवादी अध्यक्ष दाहालले पनि सकारात्मक जवाफ दिएका छन्। दुई अध्यक्षबीच संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवसँग शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएपछि केही बेर थप छलफलक्रममा ओलीको त्यस्तो प्रस्ताव आएको हो।
ओलीले ८ गते बिहीबार दाहालसँगको भेटमा पनि आफ्नो भारत भ्रमणको मिति २३ देखि २५ सम्म तय भइसकेको र त्यसअगाडि नै सकभर एकताको काम टुंग्याएर भारत भ्रमणमा जान सकिए सकारात्मक सन्देश जाने भन्दै अनौपचारिक छलफल गरेका थिए। त्यसदिन दुई अध्यक्ष (ओली दाहाल) बीच कार्यदलको तयारी र समयले भ्याउने देखिएमा छिटो टुंग्याएर जान सकिने विषयमा छलफल भएको थियो।

शुक्रबार दुवै नेताले अन्तरिम विधान र अन्तरिम राजनीतिक प्रतिवेदन बनाउन गठित दुई छुट्टाछुट्टै कार्यदलमा रहेका पार्टी नेतासँग अनौपचारिक छलफल गरी कार्यदलले गरिरहेको तयारीको विषयमा बुझेका थिए। त्यसपछि शनिबार दुई अध्यक्ष थप छलफलमा बसेका थिए। उक्त छलफलमा कार्यदलको काम करिब सकिने चरणमा रहेकाले द्रुतगतिमा काम अगाडि बढाएर भए पनि भारत भ्रमणअगाडि नै पार्टी एकताको प्रस्ताव ओलीले गरेका थिए। ओलीको त्यस्तो प्रस्तावमा दाहालले पनि सकारात्मक जवाफ दिएर आन्तरिक तयारीका लागि केन्द्रीय कार्यालयको हेडक्वार्टर बैठक बोलाएका थिए।

आफ्नै निवास खुमलटारमा बसेको माओवादी पार्टी नेताहरूको बैठकमा दाहालले ओलीले आफ्नो भारत भ्रमणअगाडि नै पार्टी एकता टुंग्याउन प्रस्ताव राखेको खुलासा गरेका थिए।

दाहालको भनाइ उद्धृत गर्दै माओवादी केन्द्रका सचिवालय सदस्य नारायण शर्माले अन्नपूर्णसँग भने, ‘प्रधानमन्त्रीले पार्टी एकता गरेर भारत भ्रमणमा जाँदा राम्रो हुने, सन्देश पनि राम्रो जाने प्रस्ताव गर्नुभयो, मलाई पनि ठिकै लाग्यो, हाम्रो तयारी के हुन्छ , सकिन्छ सकिन्न यस विषयमा सुझाव दिनुहोला।’

ओली दाहालबीचको छलफलमा दुई दिनभित्र कार्यदललाई आफ्नो काम सक्न निर्देशन दिने, १४ गतेभित्रै पार्टी एकता संयोजन समितिको बैठक बस्ने र प्राप्त कार्यदलको रिपोर्टका आधारमा निर्णय एकतासम्बन्धी ठोस निर्णय लिने, चैत १५ मा एकता संयोजन समितिले लिएका निर्णयका आधारमा दुवै पार्टीले आन्तरिक तयारी गर्ने र चैत २३ भित्रै पार्टी एकता गर्ने गरी गृहकार्य अगाडि बढाउन छलफल चलेको छ।

अन्तरिम विधान तथा संगठनात्मक कार्यविधि र अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्न दुवै पार्टी शीर्ष नेता सम्मिलित एकता संयोजन समितिले फागुन ७ मा छुट्टाछुट्टै दुई कार्यदल गठन गरेको थियो। दुवै कार्यदलले अहिले अन्तरिम मस्यौदा तयार पारी छलफल गरिरहेको छ। अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्न गठित कार्यदलको आइतबार पनि बैठक बोलाइएको छ।

कार्यतालिका

कार्यदलले बढीमा सोमबारसम्म काम सक्ने

१४ गतेभित्रै एकता संयोजन समितिको बैठक बस्ने

१५ गते संयोजन समितिको निर्णयका आधारमा दुवै पार्टीले आन्तरिक तयारी गर्ने

२२ गतेभित्रै पार्टी एकताको औपचारिक घोषणा गर्ने

संगठनात्मक कार्यदलले अनौपचारिक छलफल दिनहुँ गरिरहेको छ। एकतापछि एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने, मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद र लेनिनवादलाई मात्र बनाउने, अन्य वैचारिक विषयलाई छलफल गर्दै महाधिवेशनबाट टुंगो लगाउने र एकीकृत पार्टीका दुवै अध्यक्षले संयुक्त रूपमा नेतृत्व गर्ने समझदारी यसअघि नै एकता संयोजन समिति बैठकमा भइसकेको छ।

एमालेको तयारी पूरा, माओवादीको बाँकी

चैत २३ अघि नै पार्टी एकता गर्दा पनि एमाले आन्तरिक रूपमा तयारी अवस्थामा छ। तर, माओवादीको भने तयारी देखिँदैन। एमालेले पार्टी संगठनको सदस्य संख्या, कमिटीको आकार, नेता(कार्यकर्ताको कमिटीलगायत सबै चुस्त\दुरुस्त तथ्यांक तयारी अवस्थामा राखेको छ। तर, माओवादीको अहिलेसम्म पनि सदस्य संख्या र पार्टी कमिटीको संख्यादेखि नेता कार्यकर्ताको जिम्मेवारी कसको कहाँ भन्नेसम्मको तथ्यांक केन्द्रीय कार्यालयदेखि प्रदेश, जिल्ला तहसम्म पनि छैन।

‘अब प्रधानमन्त्रीको भारत भ्रमण अगाडि नै पार्टी एकता माओवादीको तयारी पुग्यो भने र एकता प्रक्रियामा नेताहरूको व्यवस्थापनदेखि अन्य प्राविधिक पक्षहरू मिल्यो भने सम्भव देखिन्छ,’ माओवादीकै अर्का एक नेताले अन्नपूर्णसँग भने, ‘एमालेको करिब तयारी भइसकेको देखिन्छ, हामी माओवादीको बाँकी छ।’

एमाले नेता वेदुराम भुसाल एमालेको संगठनात्मक संरचना तयारी अवस्थामा रहे पनि कार्यदलमा सरसर्ती काम सकिए काम टुंग्याउन सकिने तर एउटै विषयमा अल्झिए लम्बिन पनि सक्ने बताए।

शनिबारको माओवादी केन्द्रीय कार्यालयको बैठक एकताका लागि आन्तरिक संगठनात्मक तयारीमा केन्द्रित भएको नेता मणि थापाले बताए। माओवादीले सरकारमा सहभागी नेताहरूको कार्यव्यस्ततालाई ध्यान दिँदै प्रदेशको जिम्मेवारीबाट मुक्त गर्दै नयाँ नेतालाई जिम्मेवारी दिएको छ।

‘यो जिम्मेवारी पार्टी एकतामा आन्तरिक पार्टी संरचनाको तयारीका लागि गरिएको कार्यविभाजन हो,’ अर्का माओवादी नेता गणेश शाहले भने, ‘अब उहाँहरू (प्रदेश इन्चार्ज)ले पार्टीको प्रदेश कमिटीको आन्तरिक छलफल बैठक दुई÷तीन दिनभित्र राखेर प्रदेश र जिल्लाको तयारी गर्नुहुनेछ।’

माओवादीले प्रदेश १ मा राम कार्की, २ विश्वनाथ शाह, ३ हितमान शाक्य, ४ हितराज पाण्डे, ५ मणि थापा, ६ जनार्दन शर्मा र ७ मा लेखराज भट्टलाई जिम्मेवारी दिएको छ। माओवादीले १५ चैतमा केन्द्रीय सचिवालयको बैठकसमेत बोलाइसकेको छ।

तीन सयको केन्द्रीय समिति

एमाले माओवादी एकतापछि निर्माण हुने नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति तीन सय हाराहारीमा बनाउने गरी अन्तरिम विधान बनाउन गठित कार्यदलले प्रस्ताव गर्ने तयारी गरेको छ। कार्यदलका बीचमा करिब ३ सय १ वा २ सय ९९ सदस्यमध्ये एक संख्याको केन्द्रीय समिति बनाउने गरी प्रस्ताव तयार पारेको हो। यद्यपि, कार्यदलले निष्कर्ष भने दिइसकेको छैन।

कार्यदलले यो संख्यामै समझदारी बनाउने गरी छलफल चलाए पनि त्यसलाई पार्टी एकता संयोजन समितिले अनुमोदन गर्नुपर्ने हुन्छ। संयोजन समितिले अनुमोदन गरेमा उक्त संख्याको केन्द्रीय समितिको एकतिहाइ अर्थात् १ सयको पोलिटब्युरो र पोलिटब्युरोको एकतिहाइ अर्थात् ३३ सदस्यीय स्थायी समिति बन्नेछ।

माओवादी केन्द्रको शनिबार बसेको केन्द्रीय कार्यालय बैठकमा अन्तरिम विधान बनाउन गठित कार्यदलका संयोजकसमेत रहेका गृहमन्त्री रामबहादुर थापा (बादल) ले तीन सयको केन्द्रीय समिति बनाउने गरी कार्यदलमा करिब समझदारी जुटेको रिपोर्टिङ गरेका थिए।

‘बादलजीले केन्द्रीय समिति ३ सय हाराहारी हुने गरी कार्यदलमा करिब समझदारी जुटेको बैठकमा रिपोटिङ गर्नुभएको थियो,’ कार्यालय सदस्य गणेश शाहले अन्नपूर्णसँग भने, ‘त्यो भनेको २९९ वा ३०१ मध्ये एक हुन सक्ने पनि बादलजीको कुरा थियो। कार्यदलले रिपोर्ट बुझाएपछि एकता संयोजन समिति बैठक बसेर यस विषयको अन्तिम निर्णय लिनेछ।’ नेता मणि थापाले पनि तीन सय हाराहारी केन्द्रीय समितिको विषयमा छलफल चलिरहेको बताए।

‘प्रधानमन्त्रीको प्रस्ताव सकारात्मक लाग्यो’

‘प्रधानमन्त्रीज्यू २३ चैतमा भारत भ्रमणमा जान लाग्नुभएको छ। उहाँले मसँगको छलफलमा आफ्नो भारत भ्रमणअगाडि नै पार्टी एकताको प्रस्ताव गर्नुभयो। भारत भ्रमणअगाडि पार्टी एकता गर्दा एकीकृत पार्टीको अध्यक्ष तथा प्रधानमन्त्रीको रूपमा भारत भ्रमणमा जाँदा सन्देश राम्रो जाने भएकाले सोअनुसार गरौं भनेर प्रस्ताव राख्नुभयो, दस्ताबेज, कार्यदलका तयारी करिब पूरा हुँदै छन् भन्ने रिपोर्ट पनि आयो, त्यसो हो भने प्रधानमन्त्रीको भारत भ्रमणअगाडि नै पार्टी एकता गर्दा ठिकै हुन्छ भन्ने मलाई पनि लागेको छ। त्यो राम्रो पनि हुन्छ। हाम्रा कमिटी के(कति संख्याका छन्, हाम्रो तयारी के कस्तो हुन्छ त्यो अवधिसम्म गर्न सकिन्छ/सकिन्न के छ तपाईंहरूको सुझाव पाऊँ ’ आजको अन्नपुर्णपोष्टमा खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);