केन्द्रीय समिति २९९ जनाको एमाले र माओवादी एकताको सांगठनिक स्वरुप | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

केन्द्रीय समिति २९९ जनाको एमाले र माओवादी एकताको सांगठनिक स्वरुप

umle maobadi

काठमाडौँ, १५ चैत । एमाले र माओवादी केन्द्रबीच एकतापछिको पार्टीको केन्द्रीय समिति २ सय ९९ सदस्यीय हुने गरी सांगठनिक स्वरूप बनाउने सहमति जुटेको छ । पोलिटब्युरो ९९ र स्थायी कमिटी ३३ सदस्यीय हुनेछ । पार्टीमा पदाधिकारी रहने छैनन् । अध्यक्ष भने दुईजना हुनेछन् ।

संगठनको स्वरूप तयार गर्न गठित कार्यदलले प्रतिवेदन तयार गरेको छ । चाँडै वाम एकता संयोजन समितिमा बुझाउने तयारी भइरहेको कार्यदलका सदस्य एमाले उपमहासचिव विष्णु पौडेलले जानकारी दिए ।

हाल एमालेको केन्द्रीय कमिटी १ सय ९८ सदस्यीय छ । निर्वाचन, लेखापरीक्षण, अनुशासन आयोग र राष्ट्रिय सल्लाहकार परिषद्का अध्यक्ष गरी अन्य चार जना केन्द्रीय कमिटीका पदेन सदस्य पनि छन् । माओवादीमा भने केन्द्रीय कमिटीको संख्या कति हो, अहिले यकिन छैन । महाधिवेशन आयोजक समितिका रूपमा यसअघि झन्डै ४ हजार जनालाई समेटिएको थियो ।

एकीकृत पार्टीमा दुवै दलबाट समेटेर २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाइनेछ । त्यो मापदण्डअनुसार एमालेको हाल केन्द्रीय कमिटीमा रहेको करिब सबै नेता पर्ने सम्भावना छ । यद्यपि को–को पर्ने भन्ने निर्णय पछि पार्टीले गर्नेछ । कम्युनिस्ट पार्टीमा संलग्न रहेको अवधि, कार्यक्षमता र योगदानलगायत विषयहरूलाई हेरेर दुवै पार्टीबाट केन्द्रीय कमिटीमा रहने व्यक्ति छनोट हुनेछ । व्यक्तिको विषय एकता संयोजन समितिबाटै थप निर्णय हुनेछ ।

केन्द्रीय कमिटीबाहेक राज्यको संरचनाअनुसारकै अन्य पार्टी कमिटीहरू रहने सहमति भएको छ । केन्द्रीय कमिटीपछि राष्ट्रिय परिषद् हुनेछ । त्यसबाहेक प्रदेश कमिटी, जिल्ला कमिटी, नगररगाउँ कमिटी, निर्वाचन क्षेत्र कमिटी, वडा कमिटी र प्रारम्भिक कमिटीहरू रहनेछन् । प्रदेश कमिटी बढीमा १ सय ५१ सदस्यीयसम्म बनाउने उल्लेख छ । पार्टीमा तीन खालका सदस्यहरू रहने सहमति भएको छ । पार्टी सदस्य, संगठित सदस्य र मानार्थ सदस्य रहनेछन् ।

एकीकृत पार्टीको चुनाव चिह्न के राख्ने भन्नेमा भने कार्यदल तहमा सहमति जुटेन । एमालेले हालको चुनाव चिह्न ‘सूर्य’ नै राखौं भन्ने प्रस्ताव गरेको छ । माओवादीले भने ‘सूर्य’ चिह्नलाई परिमार्जन वा अन्य कुनै नयाँ चिह्नको प्रस्ताव गरेको छ । माओवादीको समेत पहिचान झल्किने गरी सूर्य र हँसिया हथौडा चिह्न मिलाउनुपर्ने माओवादी पक्षको माग छ । एमालेले भने सूर्य चिह्न नै जनतामा भिजिसकेकाले यसलाई परिवर्तन गर्न नहुने अडान राखेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावअघि दुई दलबीच एउटै चुनाव चिह्नमा लड्नेबारे कुराकानी भएको थियो । त्यसबेला माओवादी करिब सहमत भइसकेको भन्ने एमालेको बुझाइ छ । त्यसैले अहिले चुनाव चिह्नका विषयलाई ठूलो विवाद बनाउन नहुने धारणा एमालेले बैठकमा राखेको छ । तर कार्यदल तहका नेताहरूले यो विषय टुंग्याउन नसकेपछि अब एकता संयोजन समितिमै छलफल भई टुंगिने छ ।

दुई दलबीच पार्टी एकताका लागि दुइटा समिति बनेका थिए । त्यसमध्ये राजनीतिक प्रतिवेदन तयार गर्न गठित समितिको कार्यदलले पनि प्रारम्भिक प्रतिवेदन तयार गरिसकेको छ । पार्टीको राजनीतिक सिद्धान्त माक्र्सवाद–लेलिनवाद हुने उल्लेख छ । दुवै पार्टीभित्रका सैद्धान्तिक विवादलाई महाधिवेशनसम्म लगेर टुंग्याउने समझदारी छ ।

एमाले र माओवादीले सकेसम्म चैत महिनाभित्रै एकता गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीको भारत भ्रमणअगावै एकता गर्ने तयारी स्वरूप काम अघि बढेको छ । तर केही ढिलाइ भए कम्युनिस्ट पार्टी स्थापना दिवस अप्रिल २२ को अवसर पारेर एकता घोषणा हुने सम्भावना छ । प्रधानमन्त्रीको भारत भ्रमण र पार्टी एकताबीच कुनै साइनो सम्बन्ध नरहेकाले एकताअघि कि पछि भन्ने कुराले खासै अर्थ नराख्ने नेताहरूको धारणा छ । आजको कान्तिपुर दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);