काठमाडौं, ३ फागुन । आज दुई विदेशी फिल्मको चर्को मारमा परेको छ अभिनेत्री स्वस्तिमा खड्का स्टारर फिल्म ‘बुलबुल’ । यसमा स्वस्तिमा एक टेम्पो ड्राइभरको भूमिकामा छिन् । गीतसंगीत र ट्रेलरबाटै यो फिल्म प्रतिक्षीत बनेको थियो ।
केही सिंगल स्टेशनमा महादेव त्रिपाठीको ‘जोकर’ रिलिज भएको छ । अधिकांश सिंगल स्टेशन त ‘बुलबुल’ कै कब्जामा छ । अघिल्ला हप्ताका फिल्मको दबाब पनि छैन । तर, निर्माताले सर्वाधिक शेयर हात पर्ने मल्टिप्लेक्सहरुमा भने यो फिल्म हलिउड फिल्म ‘एलिटा’ र बलिउड फिल्म ‘गल्ली ब्वाई’ को चेपुवामा परेको छ ।
बिहीवार नै प्रदर्शनमा आएका दुई बलिया विदेशी फिल्मका कारण ‘बुलबुल’ ले मल्टिप्लेक्समा पर्याप्त सोज पाउन सकेको छैन । यद्यपि, सोज संख्या न्यून पनि छैन । क्युएफएक्सको राजधानी र मोफसलसहित ९ ओटा स्टेशनमा फिल्मले १९ सोज पाएको छ । दुई प्रतिक्षीत विदेशी फिल्मको बाबजुद पनि नेपाली फिल्मले क्युएफएक्स च्यानलमा १९ सोज हात पार्नुलाई सुखद मान्न सकिन्छ ।
विनोद पोडेल निर्देशित फिल्ममा मुकुन भुषाल, बुद्धि तामाङ्ग ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, एलिना कार्की ,जोयश पाण्डे,उज्जल अधिकारी, सृष्टि भट्टराई आदिको पनि अभिनय छ । अविरल थापाले फिल्म निर्माण गरेका हुन् भने कार्यकारी निर्माता रामराजा दाहाल हुन् । यस फिल्मको ‘खुद्रा खाद्री माया’ यस वर्षको हिट गीतमा पर्छ । फिल्मको संगीत कोशिस क्षेत्री र उदगम परियारले दिएका छन् ।
दर्शकबाट शुक्रवार र शनिबार सकारात्मक प्रतिक्रिया पाए फिल्मलाई बक्स अफिसमा लामो रेसको घोडा बन्न सहज हुनेछ ।