प्रधानमन्त्रीले दाहालको वक्तव्यमा ‘शब्द चिप्लिएको’ भन्दै यसरी सम्झाए अमेरिकी राजदूतलाई | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार

प्रधानमन्त्रीले दाहालको वक्तव्यमा ‘शब्द चिप्लिएको’ भन्दै यसरी सम्झाए अमेरिकी राजदूतलाई

kp oli

काठमाडौं, २४ माघ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको वक्तव्यमा ‘शब्द चिप्लिएको’ भन्दै अमेरिकी राजदूतलाई त्यसबाट नेपाल–अमेरिका सम्बन्धमा असर नपर्ने र पर्न नहुने सम्झाएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

भेनेजुएला प्रकरणबारे दाहालको वक्तव्यप्रति असन्तुष्ट अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई सोमबार भेट दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रपति डोनाल्ड ट्रम्पको जिब्रो चिप्लिए जस्तै रूपमा लिन अथ्र्याएका थिए ।

ओलीले बुधबार बिहान बालुवाटारमा कान्तिपुरलाई संक्षिप्त जवाफ दिँदै भने, ‘हाम्रो कुनै विवाद होइन, कहिलेकाहीँ राष्ट्रपति ट्रम्पको पनि टङ स्लिप हुन्छ, हाम्रा प्रचण्डजीको पनि वर्ड स्लिप भएको हो । स्लिप भएपछि दुई–तीन शब्द बढी गएको हो ।’ ट्रम्पले ह्वाइट हाउसमा सुरक्षा अधिकारीहरूको ब्रिफिङमा नेपाल भारतमा पर्ने भन्ने होइन र भन्दै अज्ञानता प्रकट गरेको खुलासा हालै ‘टाइम’ म्यागेजिनले गरेको थियो ।

‘यस्ता संवादका विषयवस्तुबारे हामी साधारणतया प्रतिक्रिया दिँदैनौं,’ प्रधानमन्त्री ओलीसँगको भेटबारे जिज्ञासा राख्दा अमेरिकी दूतावासकी प्रवक्ताले भनिन्, ‘तर राजदूतले प्रधानमन्त्रीसँग अमेरिका–नेपाल सम्बन्धबारे बोल्न पाउने अवसरको स्वागत गर्नुभयो ।’
बुझिए अनुसार राजदूत बेरीले आगामी सम्बन्ध कसरी अर्थपूर्ण र महत्त्वशाली बनाउनेबारे प्रधानमन्त्रीसँग भनाइ राखेका थिए ।

द्विदेशीय सम्बन्ध र साझेदारी लामो रहेको र अब यो साझेदारीको नेपाललाई कस्तो अर्थ छ भन्ने काममा हेर्न चाहेको उनले बताएका थिए । ओलीले बुधबार राति नेपाल टेलिभिजनको ‘जनतासँग प्रधानमन्त्री’ साक्षात्कारमा पनि दाहालको वक्तव्य जरुरी नभएको प्रस्ट पारे । ‘अलिकति स्लिप भएकै हो, अघिल्लै दिन वक्तव्य नदिई नहुने जरुरी थिएन, भोलिपल्ट म (स्वदेश) आउँदै थिएँ, वक्तव्यमा उपयुक्त भाषा पनि भएन भन्ने छ,’ उनले अध्यक्ष दाहालको नाम नलिई भने ।

ताजा समाचार